काठमाण्डौ । रसुवामा बुधबार बिहान आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा बाढीबाट हालसम्म भएको मानवीय तथा भौतिक क्षति, प्रभावित क्षेत्रको अवस्था र उद्धार तथा राहतका प्रयासबारे सम्बन्धित निकायले ब्रिफिङ गरेका छन्।
बैठकमा रसुवासहित बाढीको प्रभाव देखिएका तल्लो तटीय क्षेत्रको पछिल्लो अवस्थाबारे समेत जानकारी गराइएको छ।
प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकको खोज, उद्धार र राहतलाई उच्च प्राथमिकतामा राखेर काम गर्न सुरक्षा निकाय, विपद् व्यवस्थापनसम्बन्धी निकाय तथा अन्य सरोकारवाला पक्षलाई निर्देशन दिएका छन्।
उनले विपद्को यो कठिन अवस्थामा सरकारी निकायसँगै सबै पक्षलाई आ–आफ्नो स्थानबाट उद्धार र राहत कार्यमा सक्रिय रूपमा जुट्न आग्रह गरेका छन्।
बाढीबाट प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने, घाइतेको उपचार तथा राहत सामग्रीको व्यवस्थापनलाई तीव्र बनाउनसमेत प्रधानमन्त्रीले निर्देशन दिएका छन्।
रसुवाको भोटेकोशीमा आएको बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ भने यसको प्रभाव त्रिशूली नदी हुँदै नुवाकोट, धादिङलगायत तल्लो तटीय क्षेत्रमा समेत देखिएको छ।
सरकारले यसअघि नै तीनवटै सुरक्षा निकाय परिचालन गर्नुका साथै आवश्यक परे हवाई उद्धार गर्न हेलिकप्टरलाई तयारी अवस्थामा राखेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।