काठमाण्डौ । रसुवामा आएको भीषण बाढीपछि सम्पर्कविहीन बनेका नेपाल प्रहरीका कर्मचारीमध्ये केही सम्पर्कमा आउन थालेका छन्। सम्पर्कमा आएका अधिकांश प्रहरी घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार टिमुरे क्षेत्रमा रहेका प्रहरीमध्ये १० जना सम्पर्कमा आएका छन् भने १३ जना अझै सम्पर्कविहीन छन्।
यस्तै, स्याफ्रुबेँसीबाट ४ जना र मैलुङबाट एक जना प्रहरी सम्पर्कमा आएका छन्। रसुवागढीलगायत अन्य प्रभावित क्षेत्रमा रहेका केही प्रहरी भने अझै सम्पर्कबाहिर रहेको प्रहरीले जनाएको छ।
बाढीले प्रहरी कार्यालय तथा आसपासका संरचनामा समेत ठूलो क्षति पुर्याएपछि त्यहाँ कार्यरत सुरक्षाकर्मीसमेत प्रभावित भएका थिए। सञ्चार सम्पर्क अवरुद्ध हुँदा सुरुमा ठूलो संख्यामा प्रहरी बेपत्ता भएको विवरण आएको थियो।
सम्पर्कमा आएका प्रहरीमध्ये धेरै घाइते रहेकाले उनीहरूलाई सुरक्षित स्थानमा ल्याएर प्राथमिक उपचार गर्ने तथा आवश्यकताअनुसार थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको डीआईजी काफ्लेले बताएका छन्।
प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोज तथा उद्धारमा खटिएको छ। सम्पर्कविहीन सुरक्षाकर्मी तथा सर्वसाधारणको खोजी कार्य पनि जारी रहेको छ।
बाढीले टिमुरे, स्याफ्रुबेँसी, रसुवागढीलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। सडक र सञ्चारसमेत प्रभावित भएकाले वास्तविक क्षतिको विस्तृत विवरण अझै संकलन भइरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।