काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण र आकस्मिक बाढीको कारण चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरो हुनसक्ने प्रारम्भिक जानकारी आएको छ।
चीनतर्फबाट नेपाललाई उपलब्ध गराइएको प्रारम्भिक सूचनाअनुसार तिब्बतमा ठूलो हिमपहिरो खसेपछि त्यसको प्रभावस्वरूप भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
यद्यपि बाढीको वास्तविक कारणबारे औपचारिक र विस्तृत पुष्टि हुन बाँकी छ।
प्राधिकरणकी उपसचिव तथा प्रवक्ता शान्ति महतका अनुसार चीनबाट हिमपहिरोसम्बन्धी जानकारी अनौपचारिक रूपमा प्राप्त भएको हो। तिब्बत क्षेत्रमा रहेका प्राविधिकहरूको प्रारम्भिक अध्ययनले समेत हिमपहिरोलाई बाढीको सम्भावित मुख्य कारणका रूपमा देखाएको उनले बताएकी छन्।
महतका अनुसार घटनाको वास्तविक प्रकृति, हिमपहिरो गएको स्थान, त्यसबाट बनेको सम्भावित अवरोध र पानीको बहावमा आएको परिवर्तनलगायत विषयमा थप विवरण संकलन भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागले पनि तिब्बतमा गएको हिमपहिरोका कारण नै भोटेकोशीमा अस्वाभाविक बाढी आएको हुनसक्ने प्रारम्भिक संकेत देखिएको जनाएको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार घटनाको कारण पुष्टि गर्न चीनमा रहेका विभागका कर्मचारी तथा प्राविधिक टोलीमार्फत विवरण संकलन भइरहेको छ।
‘हाम्रा केही साथीहरू चीनमै हुनुहुन्छ। वास्तवमा के भएको हो भन्ने बुझ्ने प्रयास भइरहेको छ,’ कायस्थले भनेका छन्।
उनका अनुसार चीनमा रहेका प्राविधिक टोलीसँगै अन्य कूटनीतिक तथा प्राविधिक माध्यमबाट पनि घटनाको वास्तविक कारण पत्ता लगाउने काम भइरहेको छ।
भोटेकोशीमा एक्कासि आएको भीषण बाढीले रसुवा र नुवाकोटका तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीको प्रभाव त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा समेत फैलिएको छ भने विभिन्न जलविद्युत् आयोजना, सडक, भन्सार तथा अन्य भौतिक संरचनामा क्षति पुगेको विवरण सार्वजनिक भइरहेको छ।
घटनाको विस्तृत प्राविधिक अध्ययनपछि मात्रै तिब्बतको हिमपहिरो र भोटेकोशीमा आएको बाढीबीचको प्रत्यक्ष सम्बन्धबारे औपचारिक निष्कर्ष निकालिने सम्बन्धित निकायहरूले बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।