काठमाण्डौ । रसुवामा आएको भीषण बाढीमा फसेका ११० जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाली सेना र निजी कम्पनीका हेलिकप्टर प्रयोग गरी विभिन्न प्रभावित क्षेत्रबाट उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको हो।
उद्धार गरिएकामध्ये सबैभन्दा धेरै धुन्चे क्षेत्रबाट ८५ जना रहेका छन्। त्यस्तै टिमुरेबाट १३ जना, मैलुङबाट ५ जना, बेत्रावतीबाट ४ जना र त्रिशूली क्षेत्रबाट ३ जनाको उद्धार गरिएको छ।
सडक र अन्य स्थलमार्ग अवरुद्ध भएपछि प्रभावित क्षेत्रमा हवाई उद्धारलाई प्राथमिकता दिइएको छ। विशेषगरी टिमुरे, रसुवागढी, स्याफ्रुबेंसी, मैलुङलगायत क्षेत्रमा फसेकाहरूलाई हेलिकप्टरबाट सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
बुधबार भोटेकोशी नदीमा एक्कासि आएको भीषण बाढीले रसुवासँगै नुवाकोट, धादिङ र चितवनसहितका तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितका सुरक्षा निकाय खोज तथा उद्धारमा खटिएका छन्। निजी क्षेत्रका हेलिकप्टरसमेत उद्धार कार्यमा परिचालन गरिएको छ।
सरकारी निकायका अनुसार जोखिममा रहेका र सम्पर्क हुन बाँकी व्यक्तिहरूको खोजी जारी रहेकाले उद्धार हुनेको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।