काठमाण्डौ । अमेरिका र क्यानडाबीच व्यापारिक तनाव चर्किँदै गएपछि क्यानडाको ओन्टारियो प्रान्तले अमेरिकातर्फ हुँदै आएको विद्युत् आपूर्ति रोक्ने विकल्प खुला राखेको छ। ओन्टारियोबाट आपूर्ति हुने विद्युत अमेरिकाका करिब १५ लाख घर तथा व्यवसायलाई विद्युत् उपलब्ध गराउँदै आएको बताइएको छ।
ओन्टारियोका प्रिमियर डग फोर्डले व्यापार युद्ध थप चर्किए अमेरिकालाई विद्युत् बिक्री रोक्ने विषयमा सबै विकल्प खुला रहेको बताएका छन्। उनका अनुसार ओन्टारियोले मात्रै एकतर्फी निर्णय लिन नसक्ने भएकाले अमेरिकालाई विद्युत् आपूर्ति गर्ने सबै क्यानाडेली प्रान्तले समन्वय गरेर अघि बढ्नुपर्नेछ।
फोर्डले पत्रकार सम्मेलनमा भने, ‘म अमेरिकालाई विद्युत् बिक्री रोक्ने थिएँ। सबै सम्भावित कदमबारे विचार गर्नुपर्छ। तर यो निर्णय म एक्लैले गर्न सक्दिनँ।’
यसअघि ओन्टारियोले अमेरिका निर्यात हुने विद्युत्मा अतिरिक्त शुल्क लगाएको थियो। उक्त विद्युत् मुख्यतः न्युयोर्क, मिचिगन र मिनेसोटालगायत अमेरिकी राज्यमा आपूर्ति हुँदै आएको छ।
क्यानडा र अमेरिकाबीच व्यापार वार्ता असफल भएपछि तथा अमेरिकाले नयाँ ट्यारिफ लगाएपछि दुई देशबीचको तनाव थप बढेको हो। यसैबीच, ऊर्जा क्षेत्रका अधिकारीहरूले भने दुई देशको विद्युत् प्रणाली आपसमा निकै नजिकबाट जोडिएको र सीमापार विद्युत् दुवैतर्फ नियमित रूपमा प्रवाह हुने बताएका छन्।
क्यानाडेली र अमेरिकी विद्युत् ग्रिडबीचको उच्च अन्तरनिर्भरतालाई ध्यानमा राख्दै विद्युत् आपूर्ति रोक्ने निर्णयले दुवै देशको ऊर्जा प्रणालीमा प्रभाव पार्न सक्ने देखिएको छ।
फोर्डले व्यापार युद्ध थप चर्किए यस्तो कठोर कदम चाल्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै क्यानडाका सबै प्रान्त एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।