Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 09:19:36
Bizshala
Global IME Bank Limited

बाढीले खल्बल्यायो काठमाडौंको आपूर्ति शृङ्खला, अहिले अभावको चिन्ता–दसैँमा महँगीको डर

पृथ्वी राजमार्ग पटकपटक अवरुद्ध, रसुवागढी नाका अनिश्चित; खाद्यान्न, इन्धन र चाडपर्वका सामानमा मूल्य चाप बढ्ने जोखिम

बाढीले खल्बल्यायो काठमाडौंको आपूर्ति शृङ्खला, अहिले अभावको चिन्ता–दसैँमा महँगीको डर
New Office

 

काठमाण्डौ । भोटेकोशीको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङमा प्रत्यक्ष जनधनको ठूलो क्षति मात्र पुर्‍याएको छैन, काठमाडौं उपत्यकाको आपूर्ति शृङ्खलासमेत गम्भीर रूपमा खल्बल्याएको छ।

देशकै ठूलो उपभोग केन्द्र काठमाडौंमा खाद्यान्न, इन्धन, ग्यास, तरकारी, लत्ताकपडा र अन्य उपभोग्य वस्तुको नियमित आपूर्ति मुख्यतः सडकमार्गमा निर्भर छ। तर बाढीपछि पृथ्वी राजमार्ग पटकपटक अवरुद्ध हुनु र चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी अनिश्चित समयका लागि ठप्प हुनुको असर अब बजारमा देखिन सक्ने चिन्ता बढेको छ।

तत्कालका लागि अभाव व्यवस्थापन मुख्य चुनौती बनेको छ भने अर्को ठूलो चिन्ता दसैँ बजार हो। चाडपर्व नजिकिँदै गर्दा आयातित सामान बीच बाटोमै अड्किएको, कतिपय कन्टेनर तथा व्यापारिक सामान बाढीले बगाएको र ढुवानी लागत बढ्ने अवस्था बनेकाले आगामी साताहरूमा मूल्यमा चाप पर्न सक्ने सरोकारवाला बताउँछन्।

काठमाडौंको ‘लाइफलाइन’मै पटकपटक अवरोध

बाढीपछि बुधबारदेखि अवरुद्ध पृथ्वी राजमार्ग शुक्रबार साँझ सञ्चालनमा आए पनि आइतबार फेरि अवरोध भएको छ।

काठमाडौं उपत्यकाको दैनिक आपूर्तिको ठूलो हिस्सा यही मार्ग हुँदै भित्रिने भएकाले राजमार्ग बन्द हुँदा हजारौँ ट्रक तथा कन्टेनर विभिन्न स्थानमा रोकिने अवस्था आएको छ।

विशेषगरी पेट्रोलियम पदार्थ, एलपी ग्यास, खाद्यान्न, औद्योगिक कच्चा पदार्थ र ठूला परिमाणका व्यापारिक वस्तु बोकेका सवारीलाई सहज वैकल्पिक मार्ग उपलब्ध नहुँदा जोखिम अझ बढेको छ।

साना सवारीबाट वैकल्पिक सडक हुँदै सामान भित्र्याउन सम्भव भए पनि यसले ढुवानी समय र लागत दुवै बढाउनेछ। अन्ततः त्यसको भार उपभोक्ता मूल्यमा पर्न सक्ने देखिन्छ।

रसुवागढी बन्द हुँदा चीनतर्फको आपूर्तिमा थप धक्का

बाढीले रसुवागढी क्षेत्रको सडक, पुल र भन्सार पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि चीनसँगको प्रमुख स्थल व्यापारिक मार्ग पनि ठप्प छ।

रसुवागढी नाका कहिलेदेखि पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्ने स्पष्ट भइसकेको छैन।

यो अवस्थाले चीनबाट दसैँका लागि ल्याइने लत्ताकपडा, जुत्ता, इलेक्ट्रोनिक्स तथा अन्य उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुने देखिएको छ।

व्यवसायीका अनुसार भदौ मध्यदेखि नै दसैँ केन्द्रित सामान थोक बजारमा पुग्न थाल्नुपर्ने समय हो। तर अहिले धेरै मालवाहक साधन रोकिएका छन् भने कतिपय सामान बाढीमै नष्ट भएको बताइएको छ।

यसले उपलब्ध सामानको परिमाण घटाउन र आयातकर्ताको लागत बढाउन सक्छ।

‘अहिले व्यवसायभन्दा पहिले मानवीय संकट’

राष्ट्रिय व्यापार महासंघका पूर्वअध्यक्ष नरेश कटुवाल बाढीले व्यापारिक क्षेत्रमै ठूलो क्षति पुर्‍याएको बताउँछन्।

उनका अनुसार कयौँ सवारी, कन्टेनर र सामान बाढीले बगाएको छ भने केही व्यवसायीसमेत सम्पर्कविहीन छन्।

अहिले बजार र दसैँको चिन्ताभन्दा पनि खोज, उद्धार र राहत नै पहिलो प्राथमिकता भएको उनको भनाइ छ।

व्यापारिक क्षेत्रका दुई दर्जनभन्दा बढी संगठन मिलेर राहत संकलनमा समेत जुटिरहेको उनले बताए।

Bizshala
CG Motors

मूल्य वृद्धिको दबाब काठमाडौं हुँदै देशभर

नेपाल राष्ट्र बैंकमा लामो समय मूल्य सूचक निर्माणसँग सम्बन्धित काम गरेका अर्थविद् नरबहादुर थापाका अनुसार पृथ्वी राजमार्ग लामो समय अवरुद्ध हुँदा काठमाडौंको मूल्यस्तरमा प्रत्यक्ष दबाब पर्न सक्छ।

काठमाडौं ठूलो उपभोग केन्द्र भएकाले यहाँ देखिएको मूल्य वृद्धिले राष्ट्रिय उपभोक्ता मूल्य सूचकमा समेत उल्लेख्य प्रभाव पार्न सक्छ।

उनका अनुसार सामान वास्तविक रूपमा कम भएर मात्र होइन, अभाव हुने मनोवैज्ञानिक त्रास र अनावश्यक सञ्चितीका कारणसमेत कृत्रिम अभाव सिर्जना हुन सक्छ।

यसको सबैभन्दा ठूलो असर न्यून आय भएका परिवारमाथि पर्न सक्छ। विशेषगरी खाद्यान्न, तरकारी, ग्यास र इन्धनको मूल्य बढ्दा उनीहरूको दैनिक खर्चमा प्रत्यक्ष असर पर्छ।

वैकल्पिक सडकको खोजीमा सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपूर्ति सहज बनाउन वैकल्पिक मार्गको सम्भावनाबारे छलफल सुरु गरेको छ।

मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीका अनुसार कान्ति राजपथसहित काठमाडौंलाई तराईसँग जोड्ने अन्य मार्गबाट सामान भित्र्याउन सकिने सम्भावनाबारे सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय भइरहेको छ।

तर ठूला ट्रक, ग्यास बुलेट र कन्टेनरका लागि ती सडक पूर्ण विकल्प बन्न सहज छैनन्।

ठूला सवारी सञ्चालन सम्भव नभए सामान साना साधनमा सारेर ‘ट्रान्ससिपमेन्ट’मार्फत काठमाडौं भित्र्याउने विकल्पसमेत हेरिएको छ।

खाद्यान्न, चिनी र पेट्रोलियम पदार्थ पहिलो प्राथमिकतामा

सरकारले आपूर्ति व्यवस्थापनमा अत्यावश्यक वस्तुलाई पहिलो प्राथमिकतामा राखेको छ।

खाद्यान्न, चिनी तथा पेट्रोलियम पदार्थको आपूर्ति अवरुद्ध हुन नदिन नेपाल आयल निगम र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

सरकारले तत्काल ‘हाहाकार’ हुन नदिने प्रयास गरिरहेको बताए पनि भौतिक पूर्वाधारमा पुगेको ठूलो क्षतिका कारण बजारमा वस्तुको विविधता घट्न र केही वस्तुको मूल्य बढ्न सक्ने सम्भावनालाई नकार्न सकिने अवस्था छैन।

दसैँ बजारमा सबैभन्दा ठूलो परीक्षा

अबको केही साता सरकारका लागि निर्णायक हुनेछन्।

पृथ्वी राजमार्ग कति छिटो स्थिर रूपमा सञ्चालनमा आउँछ, रसुवागढी नाका कहिले खुल्छ र वैकल्पिक आपूर्ति मार्ग कति प्रभावकारी रूपमा परिचालन हुन्छन् भन्ने कुराले दसैँको बजार निर्धारण गर्नेछ।

यदि मुख्य सडक र व्यापारिक नाका लामो समय अवरुद्ध रहे भने काठमाडौंमा सामानको उपलब्धता कम हुने, ढुवानी लागत बढ्ने र त्यसको प्रत्यक्ष असर उपभोक्ता मूल्यमा पर्ने जोखिम छ।

भोटेकोशी बाढीको तत्कालीन चोट अहिले प्रभावित जिल्लामा देखिएको छ। तर यसको आर्थिक तरंग काठमाडौंका बजार, उपभोक्ताको भान्सा र दसैँको किनमेलसम्म आइपुग्ने संकेत देखिन थालेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.