काठमाण्डौ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र इरानबीच व्यापार सम्झौता हुन लागेको भन्ने चर्चालाई अस्वीकार गर्दै अमेरिकी प्रतिबन्ध छल्न इरानलाई सहयोग गर्ने कुनै पनि देशमाथि अमेरिकाले प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदी र इरानी राष्ट्रपति मसुद पेजेस्कियानबीच किर्गिस्तानको बिस्केकमा आयोजित २६औँ सांघाई सहयोग संगठन शिखर सम्मेलनको अवसरमा भेटवार्ता भएपछि भारत र इरान व्यापार सम्झौताको दिशामा अघि बढेको समाचार सार्वजनिक भएका थिए। त्यसै सन्दर्भमा रुबियोको पछिल्लो भनाइ आएको हो।
‘द ब्रायन किल्मिड शो’सँगको अन्तर्वार्तामा रुबियोले भारत र इरानबीच व्यापार सम्झौता हुन लागेको आफूलाई नलागेको बताए। उनले विश्वका प्रत्येक देशले आफ्नो स्वतन्त्र विदेश नीति अपनाउने र विभिन्न मुलुकले इरानी सरकारसँग सम्पर्क राख्ने गरेको स्वीकार गरे।
रुबियोका अनुसार अमेरिकाले समेत इरानी सरकारका प्रतिनिधिसँग विभिन्न विषयमा छलफलका क्रममा सम्पर्क गरेको छ। रुबियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अघिल्लो चेतावनी दोहोर्याउँदै कुनै पनि देशले इरानलाई अमेरिकी प्रतिबन्ध छल्न सहयोग गर्न नहुने बताए।
उनले इरानलाई आम्दानी सिर्जना गर्ने त्यस्ता संयन्त्र बनाउन सहयोग गर्ने देशले समेत अमेरिकी प्रतिबन्ध सामना गर्नुपर्ने चेतावनी दिए। उनका अनुसार इरानले प्राप्त गर्ने आम्दानी आतंकवादी गतिविधिलाई सहयोग गर्न तथा आणविक हतियार निर्माणमा प्रयोग गर्न सक्ने भएकाले वासिङ्टन त्यसलाई रोक्न प्रतिबद्ध छ।
रुबियोले इरानलाई आणविक हतियार प्राप्त गर्न नदिनु ट्रम्प प्रशासनको प्रमुख उद्देश्य रहेको बताए। ट्रम्प राष्ट्रपति रहुन्जेल इरानलाई आणविक हतियार राख्न नदिइने उनको दाबी छ।
तेहरानमाथि दबाब दिन अमेरिकाको मुख्य माध्यम आर्थिक प्रतिबन्ध रहेको उनले बताए। यद्यपि आवश्यक परे सैन्य कारबाही गर्ने अधिकारसमेत अमेरिकाले सुरक्षित राखेको उनको भनाइ छ।
रुबियोले इरानले आफ्नो आर्थिक स्रोत इरानी जनताको जीवनस्तर सुधार्नभन्दा सशस्त्र समूहलाई सहयोग गर्न प्रयोग गरिरहेको आरोपसमेत लगाए।
यसैबीच, मध्यपूर्वमा पछिल्ला केही साताकै सबैभन्दा भीषण सैन्य भिडन्तपछि अमेरिका र इरानबीच आरोप–प्रत्यारोप तथा धम्कीको क्रम जारी छ। राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाले इरानका विभिन्न लक्ष्यमा ‘अत्यन्त ठूलो आक्रमण’ गरेको र आवश्यक परे पुनः आक्रमण गर्न तयार रहेको बताएका छन्।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोसेन रेजाईले भने युद्धमा इरानले नयाँ रणनीति अपनाएको दाबी गरेका छन्। उनले युद्धभूमि, कूटनीति र आर्थिक नाकाबन्दीको सामना गर्ने क्षेत्रमा इरानको नयाँ रणनीतिले अमेरिकालाई चुनौती दिने बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।