काठमाण्डौ । रसुवालाई केन्द्रबिन्दु बनाएर आएको विनाशकारी बाढी तथा त्यसपछिको प्राकृतिक विपत्तिमा परी मृत्यु हुनेको संख्या १ हजार २५२ पुगेको छ। विभिन्न क्षेत्रबाट अझै हजारौं नागरिक सम्पर्कविहीन रहेकाले मानवीय क्षतिको संख्या थप बढ्न सक्ने देखिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार अपराह्न १२ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विपत्तिबाट भएको मानवीय क्षति, उद्धार, उपचार र राहतको पछिल्लो अवस्था सार्वजनिक गरेको हो।
प्राधिकरणका अनुसार हालसम्म सबैभन्दा बढी चितवनमा ३५५ जनाको मृत्यु भएको छ। कतिपय स्थानमा पूर्ण शव नभई मानव अङ्ग मात्र फेला परेका छन्।
त्यस्तै, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको छ।
तर ठूलो संख्यामा शव फेला परे पनि सनाखतको प्रक्रिया भने निकै सुस्त छ। हालसम्म ९५ जनाको मात्रै पहिचान गरी शव आफन्तलाई जिम्मा लगाइएको प्राधिकरणले जनाएको छ।
झन्डै १२ हजारको जीवितै उद्धार
विपत्तिमा फसेका ११ हजार ९९३ जनाको सुरक्षाकर्मीले जीवितै उद्धार गरेका छन्।
नेपाली सेनाले हवाई उद्धारमार्फत मात्रै ४ हजार ९१ नेपाली र २७३ विदेशी गरी कुल ४ हजार ३६४ जनालाई सुरक्षित स्थानमा ल्याएको छ।
उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरले ७१५ पटक उडान भरेका छन् भने निजी क्षेत्रका हेलिकप्टरबाट १२९ वटा उडान गरिएको छ।
बाढी तथा पहिरोबाट घाइते भएका ५ हजार १३५ जनाले उपचार पाएका छन्। तीमध्ये ३०१ जना अहिले पनि विभिन्न अस्पतालमा उपचाररत छन्।
नेपाली सेनाले ३ हजार २०६ र सशस्त्र प्रहरीले १ हजार ६२८ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ। नुवाकोट, धादिङ, रसुवा र काठमाडौंमा स्थापना गरिएका होल्डिङ सेन्टरहरूमा अहिले ३ हजार ९४८ जना आश्रित छन्।
अझै ४ हजार २१६ जना सम्पर्कविहीन
विपत्तिको सबैभन्दा चिन्ताजनक पक्ष अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहनु हो।
प्राधिकरणका अनुसार हालसम्म ४ हजार २१६ जनाको अवस्था यकिन हुन सकेको छैन।
सम्पर्कविहीनमध्ये रसुवाका ८६५ र नुवाकोटका १ हजार ५५८ जना स्थानीय बासिन्दा छन्। त्यस्तै, ५८३ विदेशी पर्यटक र विभिन्न जलविद्युत् आयोजनामा कार्यरत करिब ९०० कर्मचारी तथा श्रमिक पनि सम्पर्कविहीन सूचीमा छन्।
सुरक्षा निकायका जनशक्तिसमेत विपत्तिमा हराइरहेका छन्। ४५ नेपाली सैनिक, २५ नेपाल प्रहरी र १३ सशस्त्र प्रहरी सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ। अन्य कर्मचारी तथा जनप्रतिनिधिसमेत बेपत्ता रहेको र उनीहरूको खोजी जारी रहेको जनाइएको छ।
खोज तथा उद्धारमा २१ हजारभन्दा बढी सुरक्षाकर्मी
सरकारले खोज, उद्धार र राहतका लागि देशभर २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरेको छ।
तीमध्ये नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना परिचालित छन्।
विपत्तिले क्षति पुर्याएको सञ्चार पूर्वाधार भने क्रमशः सञ्चालनमा आउन थालेको छ। नेपाल टेलिकमका प्रभावित ११० वटै टावर पुनः सञ्चालनमा आएका छन् भने एनसेलका प्रभावित ७८ टावरमध्ये ७५ वटा सञ्चालनमा आइसकेका छन्।
प्रभावित क्षेत्रमा इन्धन अभाव हुन नदिन ४६ हजार लिटर डिजेल, २४ हजार लिटर पेट्रोल र २१ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ।
प्रभावित पालिकालाई साढे १३ करोड
सरकारले प्रभावित जिल्ला तथा स्थानीय तहका लागि तत्काल नगद राहतसमेत उपलब्ध गराएको छ।
रसुवा र नुवाकोटका लागि १–१ करोड रुपैयाँ तथा धादिङका लागि ५० लाख रुपैयाँ निकासा गरिएको छ।
त्यस्तै, बढी प्रभावित १५ स्थानीय तहलाई कुल १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ।
काठमाडौंबाट ४५ ट्रक र ३७ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। सडकमार्गसँगै हवाई माध्यमबाट पनि राहत ढुवानी जारी छ।
सशस्त्र प्रहरी बलले नुवाकोट र रसुवाका प्रभावित क्षेत्रमा १३० पटक हवाई उडान गरी राहत सामग्री पुर्याएको छ।
प्राधिकरणले सम्पर्कविहीन विदेशी नागरिक, उद्धार गरिएका व्यक्ति तथा अस्पतालमा उपचाररतहरूको अद्यावधिक विवरण आफ्नो आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको जनाएको छ।
बाढी आएको एक साताभन्दा बढी समय बितिसक्दा मृतक संख्या १ हजार २५२ पुग्नु र अझै ४ हजारभन्दा बढी नागरिक सम्पर्कविहीन रहनुले विपत्तिको वास्तविक मानवीय क्षति अझै पूर्ण रूपमा यकिन भइनसकेको देखाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।