काठमाण्डौ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका सञ्जय साहले सुरुङभित्र अझै दर्जनौं व्यक्ति अड्किएको हुनसक्ने बताएका छन्।
शुक्रबार बिहान मेकानिकल सुपरभाइजर कबिर महर्जनसँगै उद्धार गरिएका साहका अनुसार बाढी आउँदा सुरुङभित्र सामान्य दिनको तुलनामा धेरै मानिस कार्यरत थिए। उनले त्यतिबेला करिब ४० देखि ५० जनासम्म सुरुङ क्षेत्रमा रहेको अनुमान गरेका छन्।
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका बेला साह कन्ट्रोल रुममा अपरेटरका रूपमा कार्यरत थिए। उनका अनुसार दुर्घटना भएको थाहा पाएलगत्तै उनले आफू सुरक्षित स्थानतर्फ भाग्नुको सट्टा अन्य कर्मचारीलाई चेतावनी दिने र बाहिर निस्कन आग्रह गर्ने काम गरेका थिए।
साहले उद्धारपछि दिएको जानकारीअनुसार ड्यामतर्फ दुर्घटना भएको थाहा पाएपछि उनले सहकर्मीहरूलाई तत्काल बाहिर जान भनेका थिए। सबैलाई सूचना दिँदै गर्दा आफू बाहिर निस्कने समय भने गुमेको उनले बताएका छन्।
उनका अनुसार सामान्य अवस्थामा कन्ट्रोल रुम आसपास चार–पाँच जना मात्रै रहने गरे पनि बाढी आएको दिन सुरुङ र पावरहाउस क्षेत्रमा ठूलो संख्यामा कर्मचारी तथा अन्य व्यक्ति रहेका थिए।
साहले सुरुङको भित्री भाग तथा पावरहाउस क्षेत्रमा पनि मानिसहरू रहेको हुनसक्ने बताएका छन्। बाढीको तीव्र बहावका कारण कतिपय मानिस अझ भित्रतर्फ धकेलिएको हुनसक्ने उनको अनुमान छ।
१० दिनसम्म सुरुङभित्र कसरी टिक्नुभयो भन्ने प्रश्नमा साहले कठिन परिस्थितिमा आफूले महामन्त्र जप्दै समय बिताएको बताएका छन्।
त्रिशूली–३ ‘ए’ को सुरुङभित्र फसेकामध्ये साह र कबिर महर्जनलाई शुक्रबार जीवितै उद्धार गरिएपछि त्यहाँ अझै मानिसहरू जीवित अवस्थामा हुनसक्ने आशा बढेको छ।
उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरीसहित प्राविधिक टोली खटिएको छ। अब सुरुङको बाँकी भाग र पावरहाउस क्षेत्रसम्म खोजी विस्तार गर्नु थप महत्वपूर्ण बनेको छ।
साहको पछिल्लो बयानले सुरुङभित्र फसेकाहरूको वास्तविक संख्या तथा उनीहरूको अवस्थाबारे नयाँ प्रश्न उठाएको छ। उद्धार टोलीका लागि अब मुख्य चुनौती सुरुङको भित्री भागसम्म पुगेर थप व्यक्तिको खोजी गर्नु हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।