काठमाडौं । कान्स फिल्म फेस्टिभलमा ‘जुरी प्राइज’ जित्न सफल नेपाली फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ शुक्रबारदेखि नेपालका सिनेमा हलमा प्रदर्शनमा आएको छ। अविनाश विक्रम शाह निर्देशित चलचित्रले सन् २०२६ को कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा जुरी प्राइज जित्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाको उपस्थिति बलियो बनाएको थियो।
चलचित्रको व्यावसायिक प्रदर्शनअघि निर्माण टोली र जोन्टा क्लब अफ काठमाण्डौको आयोजनामा विशेष फन्ड–रेजर प्रदर्शनसमेत गरिएको थियो। ती प्रदर्शनबाट संकलित रकम भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरिएको निर्माण टोलीले जनाएको छ।
बाढीबाट प्रभावित परिवार तथा समुदायको पुनःनिर्माण र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले गरिएको उक्त पहलले चलचित्रको नेपाल यात्रालाई थप अर्थपूर्ण बनाएको निर्माण टोलीको भनाइ छ। समुदाय, अपनत्व र कठिन परिस्थितिमा एकअर्काको साथमा उभिने मानवीय सम्बन्धको कथा प्रस्तुत गर्ने चलचित्रसँगै सामाजिक उत्तरदायित्वलाई जोडिएको यो पहल गरिएको हो।
जङ्गल र जङ्गली हात्तीले घेरिएको नेपाली गाउँको पृष्ठभूमिमा आधारित चलचित्रले पिरती नामकी किन्नर समुदायकी महिलाको कथा प्रस्तुत गर्छ। उनकी छोरी हराएपछि सुरु हुने खोजी यात्राले प्रेम, स्वतन्त्रता, उत्तरदायित्व र अपनत्वजस्ता मानवीय विषयलाई गहिराइमा प्रस्तुत गर्छ।
‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ निर्देशक अविनाश विक्रम शाहको फिचर निर्देशकीय डेब्यु चलचित्र हो। कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको चलचित्रले त्यही विधामा जुरी प्राइज हासिल गरेको हो।
अन्तर्राष्ट्रिय मञ्चमा चर्चा र प्रशंसा बटुलेपछि चलचित्र अब नेपाली दर्शकमाझ पुगेको छ। शुक्रबारदेखि देशभरका विभिन्न सिनेमा हलमा प्रदर्शन भइरहेको चलचित्र दर्शकले आफूलाई पायक पर्ने हलमा पुगेर ठूलो पर्दामा हेर्न सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।