काठमाण्डौ । विश्वका सर्वाधिक सफल लगानीकर्ता वारेन बफेटले अमेरिकी व्यावसायिक इतिहासकै एउटा असाधारण अध्यायमा पूर्णविराम लगाएका छन्।
गत वर्षको अन्त्यमा बर्कसायर ह्याथवेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद छाडेका बफेटले अब सन् १९७० देखि सम्हाल्दै आएको कम्पनीको अध्यक्ष पदबाट पनि राजीनामा दिएका हुन्। ९६ वर्षीय बफेट कम्पनीको सञ्चालक समितिमा भने रहनेछन् र उनलाई ‘चेयरम्यान इमेरिटस’को सम्मानजनक भूमिका दिइएको छ।
उनका ७१ वर्षीय छोरा हावर्ड जी. बफेट बर्कसायरको गैरकार्यकारी अध्यक्ष बनेका छन्। सन् १९९३ देखि कम्पनीको सञ्चालक रहेका हावर्डले दैनिक व्यवसाय सञ्चालन गर्ने छैनन्। उनको मुख्य जिम्मेवारी बफेटले निर्माण गरेको व्यावसायिक संस्कृति, इमानदारी र दीर्घकालीन लगानी दर्शनलाई जोगाउनु हुनेछ।
बर्कसायरको दैनिक सञ्चालन र पूँजी परिचालनको अधिकार भने गत जनवरीदेखि सीईओको जिम्मेवारी सम्हालेका ग्रेग एबेलसँग रहनेछ। यसरी बफेटपछिको बर्कसायरमा स्पष्ट जिम्मेवारी विभाजन गरिएको छ- एबेलले कम्पनी चलाउनेछन्, हावर्डले यसको संस्कृति जोगाउनेछन्।
बफेटले सेयरधनीलाई लेखेको पछिल्लो पत्रमा एबेलको कार्यसम्पादन आफ्नो अपेक्षाभन्दा पनि उत्कृष्ट रहेको बताएका छन्। आफ्नै उमेरलाई स्वीकार गर्दै उनले लेखेका छन्, “समयसँगको लडाइँमा अन्ततः समय नै विजयी हुन्छ। तर, समय मप्रति उदार रह्यो।”
नयाँ सीईओ एबेलले पनि बफेटको योगदानलाई अमेरिकी व्यावसायिक इतिहासमै अतुलनीय भनेका छन्। रोयटर्सका अनुसार करिब १.१ ट्रिलियन अमेरिकी डलर मूल्यको बर्कसायरसँग हाल झन्डै ३६५ अर्ब डलर बराबरको नगद तथा तरल सम्पत्ति छ।
सफल कपडा उद्योगबाट १.१ ट्रिलियन डलरको साम्राज्य
बफेटले आफ्नो करिअर सन् १९५१ मा आफ्ना बाबुको लगानी कम्पनी ‘बफेट, फाल्क एन्ड कम्पनी’मा सेल्सम्यानका रूपमा सुरु गरेका थिए। त्यसपछि उनले महान् मूल्य लगानीकर्ता बेन्जामिन ग्राहमको कम्पनीमा धितोपत्र विश्लेषकका रूपमा काम गरे।
सन् १९५६ मा ओमाहामा आफ्नै लगानी साझेदारी कम्पनी खोलेका बफेटले सन् १९६२ देखि संकटग्रस्त कपडा उत्पादक बर्कसायर ह्याथवेका सेयर किन्न थाले। सन् १९६५ मा कम्पनीमाथि नियन्त्रण कायम गरेपछि उनले कपडा उद्योगलाई बिस्तारै बन्द गर्दै बर्कसायरलाई लगानी र व्यवसाय अधिग्रहण गर्ने विशाल संरचनामा रूपान्तरण गरे।
आज बर्कसायरअन्तर्गत बीमा कम्पनी जीईआईसीओ, मालवाहक रेल कम्पनी बीएनएसएफ, बर्कसायर ह्याथवे इनर्जी, डेरी क्विन, फ्रुट अफ द लुम, क्लेटन होम्स र प्रिसिजन कास्टपार्ट्सजस्ता दर्जनौँ कम्पनी छन्। यससँगै एप्पल, कोकाकोला, अमेरिकन एक्सप्रेस, अल्फाबेट र जापानका प्रमुख ट्रेडिङ हाउसहरूमा समेत कम्पनीको ठूलो लगानी छ।
बफेटको नेतृत्वकालमा बर्कसायरको बजार मूल्य औसतमा वार्षिक करिब १९ प्रतिशतले बढेको छ। यस्तो प्रतिफल लामो अवधिमा अमेरिकी सेयर बजारको प्रमुख सूचक एसएन्डपी ५०० को वृद्धिभन्दा निकै उच्च हो।
सानो रकममा वार्षिक १९ प्रतिशत चक्रवृद्धि प्रतिफल सामान्य देखिन सक्छ। तर, ६ दशकसम्म निरन्तर हुँदा यही प्रतिफलले बर्कसायरलाई संकटग्रस्त कपडा कम्पनीबाट ट्रिलियन डलरको साम्राज्य बनायो।
‘बोरिङ’ कम्पनीमा लगानी गरेर बने संसारकै चर्चित लगानीकर्ता
बफेटको सफलताको केन्द्रमा आकर्षक कथा वा बजारको क्षणिक उन्माद थिएन। उनी बुझ्न सकिने व्यवसाय, बलियो व्यवस्थापन, टिकाउ प्रतिस्पर्धात्मक क्षमता, नियमित नगद प्रवाह र उचित मूल्य भएका कम्पनीमा लगानी गर्थे।
बीमा, रेलवे, विद्युत्, खाद्यपदार्थ, उपभोक्ता वस्तु र औद्योगिक उत्पादनजस्ता धेरै लगानीलाई बजारले ‘बोरिङ’ क्षेत्र मान्थ्यो। तर, बफेटका लागि अर्थतन्त्रले सधैँ आवश्यक ठान्ने र दशकौँपछि पनि अस्तित्वमा रहने व्यवसाय नै आकर्षक थिए।
उनको दर्शन सरल थियो—राम्रो व्यवसाय उचित मूल्यमा किन्ने, पर्याप्त सुरक्षा मार्जिन राख्ने र बजारको दैनिक उतारचढावभन्दा व्यवसायको दीर्घकालीन क्षमता हेर्ने।
यही कारण बफेट डटकम उन्माद, क्रिप्टोकरेन्सीको तीव्र लहर र पछिल्लो आर्टिफिसियल इन्टेलिजेन्स दौडमा समेत सुरुदेखि हामफालेनन्। तर, रोचक पक्ष के छ भने AI कम्पनीको मूल्य पछ्याएर नदौडिएका बफेटको बर्कसायर अहिले AI विस्तारको अप्रत्यक्ष लाभार्थी बनेको छ।
AI नकिनेरै AI बाट कमाइ
AI मोडेल सञ्चालन गर्ने विशाल डाटा सेन्टरलाई ठूलो मात्रामा विद्युत् चाहिन्छ। यसले अमेरिका लगायत विश्वभर विद्युत् उत्पादन, प्रसारण संरचना, प्राकृतिक ग्यास टर्बाइन र अन्य ऊर्जा उपकरणको माग बढाएको छ।
बर्कसायरले सन् २००० मै मिडअमेरिकन इनर्जी किनेको थियो। त्यसबेला AI को चर्चा नै थिएन। अहिले त्यही कम्पनी समेटिएको बर्कसायर ह्याथवे इनर्जी अमेरिकाको ठूलो ऊर्जा व्यवसाय बनेको छ।
मिडअमेरिकनले विद्युत् आपूर्ति गर्ने आयोवा राज्य डाटा सेन्टरको नयाँ केन्द्र बनिरहेको छ। सीईओ ग्रेग एबेलका अनुसार गत वर्ष आयोवामा कम्पनीले बिक्री गरेको कुल विद्युत्मध्ये करिब ८ प्रतिशत डाटा सेन्टरहरूले उपभोग गरेका थिए। बर्कसायरसँग नेभादामा सञ्चालन हुने एनभी इनर्जीसमेत छ, जहाँ डाटा सेन्टर र प्रविधि पूर्वाधार तीव्र रूपमा विस्तार भइरहेका छन्।
अर्थात्, कुन AI कम्पनी विजेता बन्छ भन्ने जोखिम नलिई बर्कसायरले सबै AI कम्पनीलाई अनिवार्य रूपमा चाहिने बिजुली बेचिरहेको छ।
बर्कसायरको अर्को कम्पनी प्रिसिजन कास्टपार्ट्सले विद्युत् उत्पादनमा प्रयोग हुने टर्बाइनका जटिल पार्टपुर्जा बनाउँछ। बफेटले सन् २०१६ मा यो कम्पनी खरिद गर्दा बढी मूल्य तिरेको स्वीकारेका थिए र पछि ११ अर्ब डलर ‘राइट–डाउन’समेत गर्नुपरेको थियो।
तर, AI डाटा सेन्टरका कारण ऊर्जा माग तीव्र भएपछि ग्यास टर्बाइन विद्युत् क्षेत्रको प्रमुख आपूर्ति अवरोध बन्न पुगेको छ। यसले कुनै समय महँगो खरिद मानिएको प्रिसिजन कास्टपार्ट्सलाई अहिले AI पूर्वाधार विस्तारको लाभदायक स्थानमा पुर्याएको छ।
बर्कसायरको AI सँगको सम्बन्ध अब अप्रत्यक्ष मात्र भने छैन। कम्पनीको एप्पलमा ठूलो लगानी छ भने नयाँ नेतृत्वमा गुगलको मातृकम्पनी अल्फाबेटमा समेत लगानी विस्तार गरिएको छ। यद्यपि, बर्कसायरको आधारभूत रणनीति अझै उही छ—बजारको उत्साह पछ्याउने होइन, दीर्घकालीन नगद प्रवाह किन्ने।
ग्रेग एबेलको पहिलो परीक्षा
बफेटको उत्तराधिकारी ग्रेग एबेल लामो समयदेखि बर्कसायरको गैरबीमा व्यवसाय हेर्दै आएका थिए। विशेषगरी ऊर्जा व्यवसायमा उनको अनुभवले AI युगमा बर्कसायरलाई नयाँ अवसर दिन सक्ने अपेक्षा गरिएको छ।
तर, उनीसँग चुनौती पनि उत्तिकै ठूलो छ। करिब ३६५ अर्ब डलरको नगदलाई उचित प्रतिफल आउने क्षेत्रमा परिचालन गर्नु, बर्कसायरका सयौँ विकेन्द्रीकृत व्यवसायबीचको स्वतन्त्रता कायम राख्नु र बफेटको उपस्थितिले कम्पनीको सेयरमा थपेको विश्वास जोगाउनु उनका प्रमुख परीक्षा हुनेछन्।
बफेट स्वयं कम्पनीको सञ्चालक र ठूलो मताधिकार भएको सेयरधनीका रूपमा रहने भएकाले तत्कालै उनको प्रभाव समाप्त हुने छैन। तर, उनको सेयर परोपकारी संस्थामा हस्तान्तरण हुँदै जाँदा कम्पनीको स्वामित्व संरचनासमेत क्रमशः परिवर्तन हुनेछ।
किन छोरा हावर्डलाई अध्यक्ष बनाइयो ?
हावर्ड बफेटको नियुक्ति पारिवारिक उत्तराधिकारजस्तो देखिए पनि उनलाई व्यवसाय सञ्चालनको अधिकार दिइएको छैन। उनी किसान, फोटोग्राफर, संरक्षणकर्मी तथा परोपकारी अभियन्ताका रूपमा बढी परिचित छन्।
उनले हावर्ड जी. बफेट फाउन्डेसनमार्फत भोकमरी नियन्त्रण, मानव बेचबिखनविरुद्धको अभियान, कृषि तथा द्वन्द्वग्रस्त क्षेत्रको पुनर्निर्माणमा काम गर्दै आएका छन्। उनी १५० भन्दा बढी देश पुगिसकेका छन्।
बर्कसायरमा उनको मुख्य भूमिका व्यवस्थापनभन्दा पनि संरक्षकको हुनेछ। कम्पनीमाथि अल्पकालीन नाफाको दबाब बढेमा, व्यवसायहरू टुक्र्याउने प्रस्ताव आएमा वा बफेटले निर्माण गरेको विकेन्द्रीकृत संरचना परिवर्तन गर्ने प्रयास भएमा अध्यक्षका रूपमा उनले संस्थागत संस्कृतिको रक्षा गर्ने अपेक्षा गरिएको छ।
सम्पत्तिभन्दा ठूलो परोपकार
ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सअनुसार बफेटको सम्पत्ति करिब १४५ अर्ब डलर छ। तर, उनले मृत्युपछि बाँकी सम्पत्तिको ९९ प्रतिशतभन्दा बढी परोपकारी काममा जाने व्यवस्था गरिसकेका छन्।
उनले सन् २०१० मा बिल तथा मेलिन्डा गेट्ससँग मिलेर विश्वका अर्बपतिलाई जीवनकालमै वा मृत्युपछि कम्तीमा आधा सम्पत्ति दान गर्न प्रेरित गर्ने ‘द गिभिङ प्लेज’ अभियान सुरु गरेका थिए।
सन् २०२५ सम्ममा बफेटले दान गरेका सम्पत्तिको मूल्य करिब ६० अर्ब डलर पुगिसकेको थियो। पछिल्ला वर्षमा उनले गेट्स फाउन्डेसनलाई सेयर दिने क्रम रोकेर परिवारद्वारा सञ्चालित परोपकारी संस्थामार्फत बाँकी सम्पत्ति वितरण गर्ने योजना अघि बढाएका छन्।
अर्बौँ डलरका मालिक भए पनि उनी लामो समयदेखि सन् १९५८ मा ३१ हजार ५०० डलरमा किनेको ओमाहास्थित घरमै बसिरहेका छन्। महँगो जीवनशैलीभन्दा सादगी, प्रतिष्ठाभन्दा विश्वसनीयता र छोटो अवधिको चमकभन्दा दीर्घकालीन मूल्यलाई प्राथमिकता दिनु उनको व्यक्तिगत तथा व्यावसायिक पहिचान बन्यो।
लगानीकर्ताका लागि बफेटले छाडेका पाँच सूत्र
बफेटको औपचारिक बहिर्गमन एउटा व्यक्तिको अवकाश मात्र होइन, आधुनिक मूल्य लगानीको एउटा युगको अन्त्य हो। तर, उनले छाडेका सूत्र बजारमा अझै उत्तिकै सान्दर्भिक छन्:
-नबुझेको व्यवसायमा पैसा नलगाउने।
-बजारको भीड र हल्लाभन्दा कम्पनीको वास्तविक आम्दानी हेर्ने।
-राम्रो कम्पनी उचित मूल्यमा किनेर लामो समय राख्ने।
-नगदलाई निष्क्रिय रकम होइन, अवसर आउँदा प्रयोग गर्ने हतियार मान्ने।
-नयाँ प्रविधिको विजेता अनुमान गर्नुभन्दा त्यसलाई अनिवार्य रूपमा चाहिने पूर्वाधार खोज्ने।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।