काठमाण्डौ । NMB Bank Limited र International Centre for Integrated Mountain Development (ICIMOD) बीच दिगो वित्त, हरित लगानी र जलवायु–प्रतिरोधी विकास प्रवर्द्धनका लागि रणनीतिक साझेदारी भएको छ।
दुवै संस्थाबीच भएको समझदारीपत्र (MoU) अनुसार वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन, प्राविधिक ज्ञान तथा वित्तीय क्षेत्रको अनुभवलाई जोडेर नेपालमा व्यावहारिक र दिगो लगानीका अवसर पहिचान गर्ने लक्ष्य राखिएको छ।
साझेदारीअन्तर्गत ICIMOD को क्षेत्रीय अनुसन्धान, विज्ञान, नवप्रवर्तन तथा क्षमता विकाससम्बन्धी विशेषज्ञतालाई NMB Bank को वित्तीय क्षेत्रको अनुभवसँग जोडिनेछ। यसबाट वैज्ञानिक प्रमाण र अनुसन्धानमा आधारित समाधानलाई वित्तीय अवसर तथा लगानीयोग्य परियोजनामा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ।
सहकार्यको प्रमुख प्राथमिकता हरित वित्त प्रवर्द्धन, वातावरणीय तथा जलवायु जोखिम न्यूनीकरण, पारिस्थितिक प्रणाली संरक्षण, जिम्मेवार स्रोत व्यवस्थापन र स्थानीय समुदायको जलवायु सहनशीलता अभिवृद्धि रहने जनाइएको छ।
दुवै संस्थाले जलवायु परिवर्तनका कारण देखिएका जोखिमलाई सम्बोधन गर्ने तथा वातावरणमैत्री आर्थिक गतिविधिमा लगानी बढाउन सकिने परियोजना पहिचानमा सहकार्य गर्नेछन्।
NMB Bank ले यस साझेदारीमार्फत दिगो तथा हरित बैंकिङलाई थप प्रभावकारी बनाउँदै वातावरणमैत्री र जिम्मेवार वित्तीय अभ्यासलाई विस्तार गर्ने जनाएको छ।
त्यस्तै, ICIMOD सँगको सहकार्यले विज्ञान, वित्त र दिगो विकासबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै दीर्घकालीन तथा वातावरणमैत्री आर्थिक विकासमा योगदान पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।
साझेदारीले वित्तीय वृद्धि र वातावरणीय तथा सामाजिक प्राथमिकताबीच सन्तुलन कायम गर्ने दिगो आर्थिक मोडल प्रवर्द्धन गर्ने लक्ष्यसमेत राखेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।