काठमाण्डौ । जिनेदिन जिदानको नेतृत्वमा पहिलो खेल खेलेको फ्रान्सले यूईएफए नेसन्स लिगमा टर्कीलाई १–० ले पराजित गरेको छ। तर, जितसँगै फ्रान्सले कप्तान किलियन एमबाप्पेको चोटको चिन्ता व्यहोर्नुपरेको छ।
खेलको एकमात्र गोल गरेका एमबाप्पे त्यसै क्रममा घाइते भएका थिए। गोल गरेपछि केही समय मैदानमा टिक्ने प्रयास गरे पनि घुँडामा समस्या देखिएपछि उनले खेल पूरा गर्न सकेनन्। खेलको एक घण्टा पुग्नुअघि नै उनी मैदानबाट बाहिरिएका थिए।
एमबाप्पेले सुरुमा चोटलाई बेवास्ता गर्दै खेल निरन्तरता दिने प्रयास गरेका थिए। तर, हिँड्ने क्रममा पीडा बढेपछि उनी मैदानबाट लङ्गडाउँदै ड्रेसिङ रुमतर्फ गएका थिए।
खेलपछि फ्रान्सका प्रशिक्षक जिदानले एमबाप्पेलाई थप जोखिममा नपार्ने निर्णय गरिएको र उनलाई राष्ट्रिय टोलीको क्याम्पबाट हटाएर स्पेनको म्याड्रिड फर्काइने जानकारी दिए।
फ्रान्सेली टेलिभिजन त्ँज्ञसँग कुरा गर्दै जिदानले एमबाप्पेको अवस्था “राम्रो नरहेको” बताएका थिए। उनका अनुसार एमबाप्पेको घुँडामा हाइपरएक्सटेन्सन भएको छ। चोटको वास्तविक अवस्था थप स्पष्ट गर्न चिकित्सकीय परीक्षण गरिने उनले बताए।
फ्रान्सेली फुटबल महासंघले भने एमबाप्पेको टेन्डनमा चोट लागेको जनाएको छ। चोटका कारण उनी जारी अन्तर्राष्ट्रिय विश्राम अवधिका बाँकी खेलमा सहभागी हुन नसक्ने महासंघले स्पष्ट पारेको छ।
यससँगै एमबाप्पेले शुक्रबार स्टेड डे फ्रान्समा हुने इटालीविरुद्धको खेल गुमाउने भएका छन्। त्यसपछि सोमबार हुने बेल्जियमविरुद्धको खेलमा पनि उनी उपलब्ध हुने छैनन्।
फ्रान्सेली फुटबल महासंघले एमबाप्पेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनी छिट्टै मैदानमा फर्कने अपेक्षा व्यक्त गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।