काठमाण्डौ । नजिकिँदो चाडपर्वको मौका छोपेर आन्तरिक हवाई भाडा बढाइएको भन्ने गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले आन्तरिक वायुसेवा कम्पनीहरूसँग छलफल गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा क्यानले बिहीबार सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलमा बोलाएको हो।
छलफलपछि स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने/गराउने तथा त्यस्तो भाडादरसम्बन्धी सूचना सम्बन्धित वायुसेवा कम्पनीको बिक्री वितरण प्लेटफर्ममा सार्वजनिक गर्ने सहमति भएको छ।
चाडपर्व नजिकिँदै गर्दा यात्रुको चाप बढेको मौका पारेर हवाई टिकटको मूल्य उच्च बनाइएको गुनासो आएपछि नियामक निकायले एयरलाइन्स कम्पनीसँग छलफल अघि बढाएको हो।
२०७३ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट आन्तरिक हवाई सेवाको न्यूनतमदेखि उच्चतम भाडादर निर्धारण गरिएको थियो।
क्यान र वायुसेवा कम्पनीबीच भएको पछिल्लो सहमतिअनुसार यात्रुले स्वीकृत अधिकतम सीमाभन्दा तलका सस्ता टिकटसमेत सहज रुपमा देख्न र खरिद गर्न सक्ने गरी वायुसेवा कम्पनीहरूले आफ्नो बिक्री प्लेटफर्ममा भाडादर सार्वजनिक गर्नुपर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।