काठमाण्डौ । नेपाल र ओमानबीच कृषि, रासायनिक मल आपूर्ति, कृषि व्यापार, जलवायु परिवर्तन, प्रत्यक्ष हवाई उडान तथा श्रम सहकार्यका क्षेत्रमा सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्री र नेपाल भ्रमणमा रहेको ओमानको प्रतिनिधिमण्डलका प्रमुख महामहिम शेख खलिफाबीच बिहीबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा द्विपक्षीय सहकार्यका विभिन्न सम्भावनामाथि छलफल भएको हो।
भेटमा ओमानी पक्षले नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न सकिने उल्लेख गर्दै भविष्यमा नेपालमा ओमानको दूतावास स्थापना गर्ने सम्भावना तथा कोभिड–१९ महामारीअघि सञ्चालनमा रहेको प्रत्यक्ष हवाई उडान पुनः सुरु गर्नुपर्ने आवश्यकता औंल्याएको थियो।
ओमानबाट ‘ग्रिन युरिया’ ल्याउने सम्भावनामा छलफल
ओमानी प्रतिनिधिमण्डलले ओमानमा उत्पादित ग्रिन युरिया हाल भारतमा निर्यात भइरहेको जानकारी दिँदै नेपालमा समेत निर्यात गर्न सकिने सम्भावना रहेको जनाएको छ।
मन्त्रीले नेपालमा रासायनिक मलको आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यस क्षेत्रमा ओमानसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताए।
मन्त्रालयका सचिवले सरकार–सरकार (G2G) संयन्त्रमार्फत मल आपूर्तिको व्यवस्था गर्न सकिने तथा कम्पनी–कम्पनी (B2B) सम्झौतामार्फत खरिद, ढुवानी, पारवहन र लजिस्टिक व्यवस्थापनका विषयमा थप समन्वय आवश्यक रहेको बताएका थिए।
यस विषयमा सम्बन्धित कम्पनीसँग सम्पर्क र छलफल अघि बढाउन सकिनेबारे पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ।
चिया, अलैंचीदेखि फलफूलसम्म ओमान निर्यातको सम्भावना
भेटमा नेपालबाट चिया, अलैंची, ताजा तरकारी, आँप, स्याउलगायत कृषि उपज तथा पशुजन्य उत्पादन ओमान निर्यात गर्ने सम्भावनाबारे समेत छलफल भएको छ।
मन्त्रीले प्रत्यक्ष हवाई उडान पुनः सञ्चालन गर्न सकिए कृषि उपजको व्यापारसँगै पर्यटन र जनस्तरको सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने बताएका छन्।
जलवायु क्षतिमा ओमानको सहयोग माग
मन्त्रीले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर गम्भीर रूपमा भोग्नुपरेको बताएका छन्।
हिमाली क्षेत्रमा हिमपात हुने स्थानमा वर्षा बढ्दै गएको र हालैका बाढीजन्य विपद्ले ठूलो क्षति पुर्याएको उल्लेख गर्दै उनले पर्वतीय कूटनीति र जलवायु परिवर्तनबाट सिर्जित हानि तथा क्षति (Loss and Damage) सम्बन्धी अन्तर्राष्ट्रिय पहलमा ओमानको सहयोग अपेक्षा गरे।
ओमानी प्रतिनिधिमण्डलले हालै नेपालमा आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएको थियो।
नेपाली श्रमिकको सुरक्षा र सीप विकासमा पनि छलफल
भेटमा ओमानमा कार्यरत नेपाली श्रमिकलाई थप सीपयुक्त बनाउने, सम्मानजनक तथा सुरक्षित रोजगारीका अवसर विस्तार गर्ने तथा वैदेशिक रोजगार प्रक्रियालाई पारदर्शी र न्यायोचित बनाउने विषयमा पनि छलफल भएको छ।
मन्त्रीका सल्लाहकारले नेपाली श्रमिकमाथि आर्थिक भार कम गर्न अत्यधिक भर्ती शुल्क नलिने, कानुनी प्रावधान पालना गर्ने र श्रमिकको अधिकार सुनिश्चित गर्ने नैतिक भर्ती प्रणाली अपनाउने रोजगारदाता तथा भर्ती कम्पनीसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।
भेटले नेपाल र ओमानबीच रासायनिक मल आपूर्ति, कृषि व्यापार, वातावरण, प्रत्यक्ष हवाई सम्पर्क, पर्वतीय कूटनीति र सीपयुक्त जनशक्ति व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तारको आधार थप बलियो बनाएको मन्त्रालयको भनाइ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।