काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारणसभाले सेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
असोज २८ गते बुधबार पोखरास्थित होटल पोखरा ग्रान्डमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को खुद नाफाबाट चुक्ता पुँजीको ३ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरी कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।
बोनस सेयर वितरणपछि बैंकको साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ भने अग्राधिकार सेयरसहित कुल चुक्ता पुँजी १५ अर्ब ४५ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १७ पैसा कायम भएको थियो।
रोशन केसी पुनः अध्यक्ष
साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट रोशन केसी, मुकुन्द महत र कृति महतलाई निर्विरोध सञ्चालक निर्वाचित गरेको छ। सर्वसाधारण सेयरधनीका तर्फबाट विश्वप्रकाश गौतम निर्विरोध निर्वाचित भएका छन्।
साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले रोशन केसीलाई आगामी चार वर्षे कार्यकालका लागि पुनः सञ्चालक समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ।
साधारणसभाले बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ। सभामा संस्थापक तथा सर्वसाधारण सेयरधनीहरूको उल्लेख्य सहभागिता रहेको बैंकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।