काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आकर्षण उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा केबलकार चढ्ने भारतीय पर्यटकको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा २४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।
कम्पनीको मंगलबार सम्पन्न २३औँ वार्षिक साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार प्रयोग गर्ने कुल पर्यटकमध्ये भारतीय पर्यटकको हिस्सा २९ प्रतिशत पुगेको जानकारी दिए।
उनका अनुसार भारतको उत्तर प्रदेश, दिल्ली, झारखण्ड, बिहार, केरला तथा आन्ध्र प्रदेशसम्मका पर्यटक केबलकारमार्फत पाल्पाको वसन्तपुर डाँडामा पुगेर कामाख्या देवी तथा प्राचीन दुर्गा मन्दिरको दर्शन र भ्रमण गर्ने क्रम बढ्दो छ।
भारतीय पर्यटकको आवागमन अझ बढाउन सीमावर्ती क्षेत्रका यातायात चालकलाई विशेष व्यवस्था गरिएको तथा भारतीय भ्लगरमार्फत प्रचारप्रसारलाई तीव्र पारिएको कम्पनीले जनाएको छ।
यसैबीच, लुम्बिनी केबलकारको टप स्टेसन वसन्तपुरमा पाँचतारे स्तरको होटल र क्यासिनो निर्माणको प्रक्रिया पनि अन्तिम चरणतर्फ पुगेको छ। होटलको नक्सापास प्रक्रिया अन्तिम चरणमा रहेको छ भने आवश्यक खानेपानी आपूर्तिको व्यवस्थापन आंशिक रूपमा पूरा भइसकेको कम्पनीले जनाएको छ।
कम्पनीले आगामी आर्थिक वर्षमा पर्यटकको बसाइ र मनोरञ्जन अवधि बढाउने उद्देश्यले रोलर कोस्टर, बाउन्स क्यासल र जिरो ग्राभिटी राइडलगायत नयाँ मनोरञ्जनात्मक पूर्वाधार थप गर्ने योजना बनाएको छ।
पर्यटक आकर्षित गर्न कम्पनीले बुटवल र भैरहवा क्षेत्रका ७० भन्दा बढी होटल, ४० भन्दा बढी संघसंस्था र ४५ भन्दा बढी शिक्षण संस्थासँग सहकार्य गरेको छ। यस्तै भाटभटेनी सुपरमार्केट, क्यूएफएक्स सिनेमा, लुम्बिनी विकास कोष तथा शंकरनगर वन विहारसँग समेत टिकट छुट तथा प्रवर्द्धनसम्बन्धी सम्झौता गरिएको छ।
कम्पनीले विश्वव्यापी भूराजनीतिक अस्थिरता तथा बजार मूल्यवृद्धिको दबाबबीच पनि खर्च नियन्त्रण र मितव्ययिता कायम गरिएको जनाएको छ। साथै भविष्यमा सञ्चालन हुने अन्य केबलकार आयोजनाका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा समेत कम्पनीले योगदान गरिरहेको उल्लेख गरिएको छ।
भारतीय पर्यटकको बढ्दो उपस्थितिसँगै होटल, क्यासिनो तथा थप मनोरञ्जन पूर्वाधार निर्माणले लुम्बिनी केबलकारलाई सीमावर्ती क्षेत्र केन्द्रित धार्मिक तथा मनोरञ्जन पर्यटनको ठूलो गन्तव्यका रूपमा विकास गर्ने कम्पनीको लक्ष्य देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।