काठमाण्डौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले बैंकिङ भाषा प्रयोग गर्दै माओवादी केन्द्रले धितोबिनै निकै ठूलो ऋण पाए पनि त्यसको सदुपयोग गर्न नसकेको बताएका छन् ।
संसदलाई सम्बोधन गर्दै नेता भट्टराईले माओवादी र विशेष गरी प्रचण्डले आफ्नो लगानीभन्दा धेरै लाभांश खोज्दा आजको अवस्था बनेको दाबी समेत गरे ।
‘प्रधानमन्त्री ज्यूले मैले कसैलाई सभामुख र कसैलाई राष्ट्रपति दिएँ भन्नुभयो । तपाईंलाई ३/३ पटक प्रधानमन्त्री बनाउँदा हामीले सहयोग गरेको होइन र ?,’ योगेशले भने, ‘वित्तीय संस्थाले कहिलेकाहिँ कोल्याटर (धितो) नपुग्दा पनि व्यक्ति हेरेर ऋण दिन्छन् । हामीले पनि प्रचण्डको व्यक्तित्वका कारण दिएका हौ । सधैं त्यो भाष्य बन्छ भन्ने लाग्दैन ।’
उनले प्रचण्डले पोखेका कुण्ठाहरु हेर्दा प्रधानमन्त्रीको रुपमा उनको यो अन्तिम सम्बोधन हो भन्ने आफूलाई लागिरहेको समेत बताए ।
उनले फेरि पनि उथलपुथल गर्ने धम्की नदिन आग्रह गर्दै भने-' अब यस्ता कुराले काम गर्दैनन् । कुनै समुदाय, जाति विशेषलाई उचालेर उचालिने र उथलपुथल हुने समय छैन अब । त्यो बाटोमा गए माओवादी थन्किनुबाहेकको विकल्प हुँदैन ।'