काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ता कृष्ण बहादुर भट्टराई टिमबाट ‘नेपाल टप अभिकर्ता’ बन्न सफल भएका छन् । टिमबाट ४ करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरी भट्टराई हिमालयन लाइफको नेपाल टप एजेन्सी म्यानेजर बन्न सफल भएका हुन् ।
गण्डकी प्रदेश, पोखरा–८ स्थायी ठेगाना भएका भट्टराई विगत १७ वर्षदेखि सक्रिय अभिकर्ताका रुपमा लागिपरेका छन् । साविक गुराँस लाइफ इन्स्योरेन्सबाट आएका भट्टराईले आफ्नो टिमबाट सर्वाधिक प्रिमियम संकलन गरेर नेपाल टप बन्न सफल भएका हुन् ।
हिमालयन लाइफ इन्स्योरेन्समा आबद्ध पोखराका अभिकर्ताहरु यतिबेला सक्रिय रुपमा लागिपरेका छन् । भट्टराईकै साथी सर्कलमा रहेका अभिकर्ता रेशम गौतम पनि अभिकर्ता पेशमा जमिरहेका छन् । गौतम ६औं पटक एमडीआरटी क्वालिफाइड भइसकेका छन् भने भट्टराई ७ औं पटक एमडीआरटी क्वालिफाइड भएका छन् ।
बीमा रत्न अवार्ड तथा ६औं पटक एमडीआरटी बनेका रेशम गौतमले आफुजस्तै मिहिनेती सहयात्री पाएकोमा खुशी व्यक्त गरेका छन् ।
पोखराका अभिकर्ताहरु अहिले बीमा क्षेत्रमा सक्रिय रुपमा लागिपरेका छन् । गौतम विगत ८ वर्षदेखि पोखराको लेकसाइडमा ‘बुद्ध प्याराग्लाइडिङ’ नामक पर्यटन व्यवसाय समेत गर्दै आएका छन् भने भट्टराई अभिकर्ता पेशासँगै शिक्षण पेशालाई समेत अगाँल्दै अघि बढेका छन् ।
१७ वर्षे बीमा क्षेत्रको यात्रामा भट्टराईले धेरै उपलब्धी प्राप्त गरेका छन् । साविक गुराँस लाइफ इन्स्योरेन्सबाट आएका उनले हिमालयन लाइफ बनिसकेपछि आफ्नो टिमबाट सर्वाधिक प्रिमियम संकलन गरेका हुन् । गत आर्थिक वर्षमा टिमबाट सवा ४ करोड बीमाशुल्क आर्जन गरेर नेपाल टप अभिकर्ता बन्न सफल भएका छन् ।
योसँगै बीमा अभिकर्ता पेशाले आफ्नो व्यक्तित्व विकासमा समेत ठूलो टेवा पुर्याएको भट्टराई बताउँछन् । ‘विगत १७ वर्षदेखि बीमा क्षेत्रमा आबद्ध छु, यो क्षेत्रले मलाई आफ्नो व्यक्तित्व विकास गराउनमा ठूलो सहयोग पुर्याएको छ’ उनले भने, ‘फाइनान्सियल सर्पोटसँगै बोल्ने शैलीको विकास, नेटवर्किङ तथा सम्बन्ध र कोसँग कसरी बोल्ने जस्ता बानीको विकास भएको छ ।’
बीमा क्षेत्रमा लामो समय विताइसकेका भट्टराईले यो पेशालाई समाज सेवाको रुपमा हेर्ने गरेको उनी बताउँछन् । ‘एउटा अभिकर्ता भइसकेपछि बीमा बिक्री गर्न मात्र नभई समाज सेवाको भावना राखेर सेवक पनि बन्न सक्नुपर्छ’ उनले भने, ‘अहिलेको समयमा जीवन बीमा गास, बास र कपास जस्तो आवश्यक बनिसकेको छ, यसर्थ सर्वसाधारणहरुलाई बीमाको आवश्यकता बारे बुझाउन एकदम जरुरी छ ।’