काठमाण्डौ । सेयर बजारको पछिल्लो वृद्धिले आम सर्वसाधारण समेत पूँजी बजारप्रति आकर्षित भएका छन् । यतिबेला ब्रोकर हाउसहरुमा फिल्म हलको झल्को दिने गरी लगानीकर्ताहरु डिस्प्लेमा झुम्मिएका भेटिन्छन् । यससँगै क्यापिटल र ब्रोकर हाउसहरुका डीपीमा लगानीकर्ताहरुको संख्या निकै बढेको देखिन्छ ।
साउन १ गतेदेखि सुरु भएको यस आर्थिक वर्षमा अहिलेसम्म सार्वजनिक बिदा कटाएर १३ दिन सेयर कारोबार भएको छ । यो अवधिसम्म ३० हजारले नयाँ टीएमएस र मेरो सेयर लिएका छन् ।
सीडीएससीको तथ्यांकअनुसार गत आर्थिक वर्षको असार ३१ गतेसम्म डिम्याट खातावालाहरुको संख्या ६३ लाख ११ हजार ४०५ रहेको थियो । यो संख्या आजको मितिसम्म ६३ लाख ४१ हजार पुगेको छ । यस हिसाबले चालु आर्थिक वर्षमा भएको १३ कारोबार दिनमा ३० हजार जनाले डिम्याट र मेरो सेयर लिएका छन् । सेयर बजारको पछिल्लो वृद्धिले यो संख्या अझै बढ्दै जाने देखिन्छ ।