काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । डलरको मूल्य बढेसँगै र यो साता अमेरिकी केन्द्रीय बैंकले सन् २०२५ का लागि आयोजना गर्न लागेको पहिलो बैठकमा ब्याजदरसम्बन्ध्री निर्णय हुनसक्ने लगानीकर्ताको अपेक्षाबीच सुनको मूल्य घटेको हो ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य ०.३९ प्रतिशत अर्थात १०.८९ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७६१ डलरमा कारोबार भईरहेको छ । आज अमेरिकी डलरको भाउ ०.२ प्रतिशतले बढेको छ । यसले विदेशी खरिदकर्तालाई सुन महङ्गो पर्न गएको छ ।
यही जनवरी २८ देखि २९ सम्म हुन लागेको फेडरल रिजर्भको बैठकले हालकै ब्याजदर ४.२५ देखि ४.५ प्रतिशतसम्म कायम राख्ने अपेक्षा गरिएको छ । तर फेडरल रिजर्भले अर्थतन्त्रलाई प्रभाव पर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरुवाति कदमहरुलाई कसरी सामना गर्न भन्ने मुख्य चासोको विषय रहेको छ ।
आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य आज ०.३३ प्रतिशतले घटेर प्रतिऔंस ३०.३८ डलरमा कारोबार भईरहेको छ ।