काठमाण्डौ । सोमबारको कारोबारमा सुनको मूल्य करिब १ प्रतिशतले ओरालो लागेको छ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य ०.९७ प्रतिशत अर्थात २७.१६ डलरले घटेको छ ।
यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७७३.४३ डलरमा झरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशमाथि आयात शुल्क बढाउने निर्णय गरेसँगै बढेको विश्व व्यापार युद्धका त्रासबीच डलर थप बलियो बनेको छ । जसको प्रभाव सुनको मूल्य परेको छ ।
अमेरिकी डलर इन्डेक्स तीन साताकै उच्च नजिक पुगेको छ । जसका कारण विदेशी खरिदकर्तालाई बहुमूल्य पहेँलो धातु सुनको खरिद महङ्गो पर्न गएको छ ।
ट्रम्पले गत शनिबार क्यानडा र मेक्सिकोमाथि आयातमा २५ प्रतिशत र चीनमाथि १० प्रतिशत करको घोषणा गरेका थिए । यो व्यवस्था मंगलबारदेखि लागू हुनेछ । ट्रम्पको यो निर्णयप्रति क्यानडा र मेक्सिकोले जवाफी कदम चाल्ने बताएका छन् । यी दुवै देशले अमे्िरकामाथि पनि आयात शुल्क बढाउने बताएका छन् भने चीनले शुल्क लगाउने अमेरिकी निर्णयलाई विश्व व्यापार संगठनमा चुनौती दिने बताएको छ ।
आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य ०.५५ डलरले घट्दै प्रतिऔंस ३०.८३ डलरमा झरेको छ ।