काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाको खुद नाफा १८.२७ प्रतिशतले घटेको छ । संस्थाले यो अवधिमा १ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले २ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी भने बढेको छ । संस्थाको खुद ब्याज आम्दानी १०.२२ प्रतिशतले बढ्दै १९ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी १७ करोड ८९ लाख रुपैयाँ रहेको थियो । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ५९ प्रतिशतले घट्दै २ करोड ४१ लाख रुपैयाँमा सीमित बनेको छ ।
संस्थाको सञ्चालन खर्च १८ करोड २९ लाख र खुद सञ्चालन आम्दानी २० करोड ६७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा १ करोड ३ लाख रुपैयाँले ऋणात्मक रहेको संस्थाको रिटेन्ड अर्निङ १ करोड ८५ लाख रुपैयाँले धनात्मक अवस्थामा रहेको छ । रिजर्भको आकार भने ३० करोड ३१ लाख रुपैयाँबाट घटेर २५ करोड ६ लाख रुपैयाँमा खुम्चिएको छ ।
समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात ९.६३ प्रतिशतबाट घटेर ८.४७ प्रतिशतमा झरेको छ । यस्तै संस्थाको वितरणयोग्य मुनाफा १ करोड ८५ लाख र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ४.२० रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाको ईपीएस ७.९७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६०.९४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५२४.४० रुपैयाँ, मूल्य आम्दानी अनुपात १४५.६१ गुणा र तरलता अनुपात ४.८९ प्रतिशत कायम भएको छ ।