काठमाण्डौ । जापानको एक बैंकले आफ्ना ग्राहकहरुका लागि अनुहार हेरेरै कारोबार गर्न मिल्ने ‘फेस रिकग्निसन ’ प्रविधिको सुरुवात गरेको छ । जापानको ‘सेभेन बैंक’ नामक बैकले यो नयाँ प्रविधिको सुरुवात गरेको हो ।
यो नयाँ प्रविधिको माध्यमबाट यस बैंकका ग्राहकहरुले देशभर रहेका २६ हजार एटीएमबाट पैसा निकाल्न तथा जम्मा गर्न सक्नेछन् । यो प्रविधिलाई ‘फेस क्यास’को नाम दिइएको छ । यो प्रविधिको प्रयोग गरेर ग्राहकहरुले बैंकको एटीएम वा स्मार्टफोनबाट बिना कार्ड पैसा झिक्न र जम्मा गर्न सक्नेछन् । यो प्रविधि पहिलोपटक प्रयोगका लागि ग्राहकहरुले अनुहारको जानकारीका लागि स्वयमलाई रजिष्टर्ड गर्नुपर्ने हुन्छ । त्यसपश्चात ग्राहकहरुले एउटा पासवर्ड र कोड नम्बरमार्फत पैसा निकाल्न सक्नेछन् ।
यो प्रविधिलाई सेभेन बैंक र टेक कम्पनी एनईसी मिलेर विकास गरेका हुन् । यो प्रविधिको प्रयोगले पहिचान चोरी गरेर गरिने धोकाधडीबाट बच्न सहयोग पुग्ने बैंकले जनाएको छ । सेभेन बैंकले यो सुविधा अन्य बैंकका खातावालाहरुका लागि पनि विस्तार गर्न चाहेको जनाएको छ ।
यो प्रविधि एकदमै सुरक्षित र भरपर्दो भएको समेत बैंकको दाबी छ । सेभेन बैंकको माउ कम्पनी सेभेन एण्ड होल्डिङ्स् कम्पनी हो । यसको मुख्यालयन जापानको चियोडा सिटीमा रहेको छ । यसको स्थापना १० अप्रिल २००१ मा भएको थियो ।