काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेडको घाटामा उल्लेख्य कमी आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म आफ्नो घाटा ९८.६९ प्रतिशतले घटाउन सफल भएको छ । यससँगै कम्पनीको घाटा १ लाख २९ हजार रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ९८ लाख ७२ हजार रुपैयाँ घाटामा रहेको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी १.६१ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत ५ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले यो अवधिमा कर्मचारी खर्च तथा प्रशासनिक खर्च र वित्तीय खर्चमा कटौती गरेको छ । कम्पनीको कर्मचारी तथा प्रशासनिक खर्च ७३ लाख १७ हजारबाट घटेर १५ लाख ७८ हजार र वित्तीय खर्च ४ करोड १९ लाखबाट घटेर ३ करोड ३३ लाख रुपैयाँमा सीमित बनेको छ ।
यद्यपी कम्पनीको रिजर्भको आकार भने १९ करोड ६१ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ । कम्पनीले २ करोड अल्पकालिन कर्जा र ६८ करोड ७३ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति ९ करोड १४ लाख र कुल चालु दायित्व ३ करोड १२ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस)त्रैमासिक ०.१० रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ६३.४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९७.३७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७ हजार ३८३.४१ गुणा कायम भएको छ ।