काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणका लागि फागुन २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्तामध्ये १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रथम चरणमा गत माघ १५ गतेदेखि २९ गतेसम्म १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्कासन गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्टाई बाँकी रहेको १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो ।
रु.१०० रुपैयाँ निर्धारण गरिएको यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन २६ गते र ढिलोमा चैत ७ गते हुनेछ। यो आईपीओका लागि कम्पनीले केयर रेटिङ नेपालबाट ‘इक्रा एनपी आईआर डबल बी ’रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व समयमै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको जनाउछ ।
कम्पनीको आईपीओ निष्कासन तथा त्रिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।