काठमाण्डौ । आइतबार सेयर बजार खुलेको १० मिनेटमै १ अर्ब बढीको सेयर कारोबार भएको छ ।
नेपाल सम्पत्ति शुद्धिकरणसम्बन्धी ग्रे लिस्टमा परेको र त्यसको असरले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने डरले डराएका लगानीकर्ताहरुले बजार खुलेपछि सेयर बिक्रीमा हतारो गर्दा १० मिनेटमै १ अर्ब बढीको कारोबार हुन पुगेको हो ।
नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले फ्रान्सको राजधानी पेरिसमा आयोजित प्लेनरी बैठकको क्रममा शुक्रबार ग्रे लिस्टमा राख्ने निर्णय गरेको थियो । यो लिस्टमा परेपछि कतिपय विदेशी दातृ निकायबाट देशलाई आउनसक्ने अनुदान तथा सहयोग रोकिने र त्यसले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने आँकलनका बीच लगानीकर्ताहरुले आफूसँग भएको कित्ता फाल्ने हतारो गरेका कारण बजार खुलेको केही मिनेटमै नेप्से परिसूचक ५० बढी अंकले घटेको थियो । यो समाचार तयार पार्दासम्म भने बजार सुधारिएर नेप्सेमा २३ अंकको मात्र गिरावट देखिएको छ ।
नेप्सेमा सूचीकृत सबै समूहका परिसूचकमा भारी गिरावट आएको देखिएको छ ।
ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरु हतास मनस्थितिमा देखिएका हाम्रा संवाददाताहरुले जनाएका छन् । अहिलेको बजारको न्यून घटाई केही समयका लागि मात्र हुनसक्ने दाबी लगानीकर्ताहरुले गरेका कारण अवस्था अझ नकारात्मक बन्नसक्ने सम्भावना देखिन्छ ।