काठमाण्डौ । ट्रम्प प्रशासन भित्रका प्रमुख अमेरिकी विभागहरूले कर्मचारीहरूलाई एलन मस्कको लागत कटौती पहलको शनिबारको इमेलको पालना नगर्न भनेका छन् । मस्कले कर्मचारीहरुलाई गत साता गरेका कामका बारेमा प्रश्न गरेका थिए।
एफबीआई, राज्य विभाग र पेन्टागन एजेन्सीहरूले कर्मचारीहरूलाई मस्कको इमेलको जवाफ नदिन निर्देशन दिएका हुन्। अन्य विभागका प्रमुखहरूले कर्मचारीहरूलाई मस्कको निर्देशनको पालना गर्न सल्लाह दिएका छने भने केहीले जवाफ दिनु अघि थप मार्गदर्शनको लागि पर्खन भनेका छन् ।
मस्कले सोमबार मध्यरातसम्म प्रतिक्रिया दिन असफल भए कर्मचारीले राजीनामा दिएका रूपमा व्याख्या गरिने बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा अझै टिप्पणी गरेका छैनन्।
मस्कको विवादास्पद निर्देशनले हजारौं सरकारी कर्मचारीहरुमा भ्रम पैदा गरेको छ । मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिशियन्सी (डोज) टास्क फोर्सले आक्रामक रूपमा सरकारी खर्च घटाउन बाहिरी प्रयासको नेतृत्व गरेको छ।
शनिबार साँझ लाखौं संघीय कर्मचारीहरूलाई पठाइएको सन्देश मस्कले आफ्नो सोशल मिडिया प्लेटफर्ममा पोस्ट गरेपछि बाहिरिएको हो ।
मस्कले पठाएको इमेलमा कर्मचारीहरूलाई गोप्य जानकारी खुलासा नगरिकन पाँच बुलेट प्वइन्टहरुमा गत हप्ताबाट कर्मचारीहरूको उपलब्धिहरू व्याख्या गर्दै जवाफ दिन भनिएको छ ।
अमेरिकी संघीय सरकारको मानव संसाधन एजेन्सी अफिस अफ पर्सनल म्यानेजमेन्ट (ओपीएम) ले इमेल प्रामाणिक भएको पुष्टि गरेको छ।