काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्रमा आवेदन दिने समयावधि थप गरेको छ । बैंकले गत फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो ।
यो ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गते बैंकिङ समयपछि हुने जनाइएको थियो । चर माग बमोजिम आवेदन नपरेकाले आवेदन दिने समयावधि लम्बाइएको हो । अब यो ऋण खरिदका लागि चैत ३ गतेसम्म आवेदन पेश गर्न सकिनेछ । उक्त निष्कासनतथा बिक्री खुल्ला आवधिभित्र मागभन्दा बढी आवेदन परेमा कुनैपनि दिन सूचना जारी गरी निष्कासन बन्द गरिने बैंकले जनाएको छ ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘‘७।५० प्रतिशत एभरेष्ट बैंक डिबेञ्चर—२०९१’नामक ऋणपत्र निष्कासन गरेको छ ।
कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।
१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६र६ महिनाको अवधिमा हुनेछ । यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । बैंकले ऋणपत्र निष्कासनका लागि गत माघ १५ गते नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट स्वीकृती पाएको थियो ।