काठमाण्डौ । अमेरिकी राष्ट्रपतिको ‘गाजा योजना’ को विकल्पका रूपमा अरब नेताहरूले ५३ अर्ब डलरको छुट्टै ‘अरब योजना’ स्वीकृत गरेका छन्। अमेरिकी राष्ट्रपतिले गाजालाई अमेरिकी नियन्त्रणमा लिने र गाजा पुन:र्निर्माणका लागि करिब २० लाख प्यालेस्टाइनीहरूलाई निष्कासन गर्ने योजना प्रस्तुत गरेका थिए।
ट्रम्पको यो योजनालाई अरब राष्ट्रहरूले पूर्ण रूपमा अस्वीकार गरेका छन् । यद्यपि अरब लिगका महासचिव अहम अबुल घैथले अरब योजना घोषणा गर्दा राष्ट्रपति ट्रम्पको योजनाको उल्लेख गरेनन्।
उनले स्वैच्छिक वा जबरजस्ती कुनै पनि प्रकारको विस्थापन अस्वीकार गर्ने अरब अडानलाई दोहोर्याए। इजिप्टले ९१ पृष्ठको विस्तृत योजना प्रस्तुत गरेको छ, जसमा हरियो क्षेत्र र ठूला सार्वजनिक भवनहरूको योजना समावेश छ।
अमेरिकाले गाजालाई ‘रिभिएरा अफ द मिडल इस्ट’ अर्थात् मध्यपूर्वको सबैभन्दा सुन्दर ठाउँ बनाउने जनाएको थियो । जसले सिंगो अरब र विश्वलाई नै चकित बनाएको थियो ।
लगभग डेढ वर्ष लामो हमास–इजरायल युद्धमा गाजा पट्टीका ९० प्रतिशत घर, भवन र सार्वजनिक स्थान ध्वस्त भएको संयुक्त राष्ट्रसंघको अनुमान छ।