काठमाण्डौ । धितोपत्र बजारमा सेन्ट्रल केवाईसी लिनेको संख्या दोब्बरले बढेका छन् । हालसम्म १ लाख १६ हजार लगानीकर्ताले सेन्ट्रल केवाईसी लिएको सीडीएससीले जनाएको छ । सीडीएसीले दिएको जानकारी अनुसार यस्तो संख्या २ महिना पहिले ५८ हजार मात्रै थियो । धितोपत्र बोर्डको निर्देशनमा अघिल्लो वर्ष सीडीएसीले सेन्ट्रल केवाईसी ल्याएको थियो ।
हालसम्म सेन्ट्रल केवाईसी लिनेको संस्थाको संख्या १०९ वटा पुगेको छ । जसमा अधिकांश ब्रोकरहरु र मर्चेण्ट बैंकहरु रहेका छन् । यसलाई ‘डिजिटल केवाईसी’ पनि भनिन्छ ।
सीडीएससीले दिएको जानकारी अनुसार लगानीकर्ता आफैले घरबाट नै ‘डब्लुडब्लु डट् सिकेवाइसी डट् सीडीएससी डट् कम डट् एनपी’ मार्फत आफ्नो डिपि छानेर सेन्ट्रल केवासी लिन सकिन्छ । सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार ग्राहकले एकपटक एक डीपीमा सेन्ट्रल केवासी भरेपछि अब ब्रोकरपिच्छे केवासी भर्नुपर्दैन ।
डिजिटल केवाईसीमा कन्ट्री कोड, स्टेट कोड, डिस्ट्रिक्ट कोड, लोकल कोड र ७ डिजिटको नम्बरसहित जम्मा १५ नम्बरको डिजिटल केवाईसीको युनिक आईडी हुन्छ ।
ग्राहकले एक ठाउँमा एउटा आईडी लिएपछि ठाउँपिच्छे केवाईसी भरिरहनुपर्ने आवश्यकता हुँदैन । यही सुविधा होस् भनेर धितोपत्र बोर्डको निर्देशनमा सीडीएससीले ४ वर्षभन्दा बढी समय लगाएर सेन्ट्रल केवाईसी लागू गरेको थियो ।
सिडिएससीका एक उच्च अधिकारीका अनुसार यसको उद्देश्य बिस्तारै ब्रोकर तथा क्यापिटलहरुको डीपीमार्फत लागू गरेर बैंकहरुमा पनि लागू गर्ने भन्ने छ । केवाईसी भनेको ‘नो योर कस्टमर’ अर्थात ग्राहक पहिचान फारम हो ।