सौतिक बिस्वास र निखिल इनाम्दार
-बीबीसी न्यूज
दुई वर्षअघि उनको ब्याङ्कका एक सल्लाहकारले राजेश कुमारलाई उनको ब्याङ्कमा रहेको बचत निकालेर म्यूचुअल फन्ड, शेअर बजार र बन्डहरूमा लगानी गर्न सुझाव दिए।
अहिलेभन्दा छ वर्षअघि १४ भारतीय परिवारमध्ये एक परिवारले मात्र आफ्नो बचत शेअर बजारमा लगाउने गर्थे भने अहिले हरेक पाँच परिवारमध्ये एकले शेअर बजारमा लगानी गर्ने गर्छन्।
भारतको शेअर बजार व्यापक बढिरहेका बेला बिहारमा रहेका इन्जिनियर कुमार पनि सार्वजनिक रूपमा शेअर खरिदबिक्री भइरहेका कम्पनीमा लगानी गर्ने लाखौँ भारतीयहरूको लहरमा खडा भए।
तर अहिले परिस्थिति बदलिएको छ।
विदेशी लगानीकर्ता पछि हटेपछि विगत ६ महिनादेखि भारतीय शेअर बजार खस्किएको छ। त्यसबाट हुने कमाइ कमजोर भएको छ भने विश्व पुँजी चीनतर्फ गइरहेको छ।
बदलिएको अवस्था
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कर नीति घोषणा हुनुअघि नै भारतीय शेअर बजारमा गिरावट आउन थालेको थियो तर अहिले त्यसका व्यापक विवरणहरू आउन थालेका छन्।
भारतको निफ्टी ५० शेअर सूचक विगत २९ वर्षयता सबैभन्दा लामो गिरावटबाट गुज्रिरहेको छ। यो विगत पाँच महिनादेखि लगातार गिरावट भइरहेको छ। निफ्टी ५० ले भारतका प्रमुख ५० पब्लिक शेअर जारी भएका कम्पनीको विवरण राख्ने र नियमित रूपमा त्यसलाई पछ्याउने गर्छ।
त्यो भनेको विश्वको एउटा तीव्र रूपमा वृद्धि भइरहेको बजारको सबैभन्दा व्यापक गिरावट हो।
शेअर दलालहरूले उनीहरूका गतिविधिहरू एक तिहाइले घटेको बताएका छन्।
"विगत छ महिनादेखि मैले लगानी गरेको क्षेत्रमा गिरावट आइरहेको छ। यो मैले लगानी गर्न थालेको पछिल्लो दशकको सबैभन्दा खराब अवस्था हो।"
पचपन्न वर्षीय कुमारले आफ्नो अधिकांश पैसा शेअर बजारमा लगाएकाले केही मात्रामा मात्र रकम ब्याङ्कमा राखेका छन्।
उनका छोरा निजी मेडिकल कलेजमा पढ्छन् र आगामी जुलाईदेखि उनले छोराको पढाइको शुल्कबापत १८ लाख भारतीय रुपैयाँ तिर्नुपर्ने हुन्छ। त्यसका लागि घाटा खाएर नै आफ्नो शेअर बेच्नु पर्ने हो कि भन्ने चिन्ता उनलाई छ।
"बजारमा सुधार आएपछि केही पैसा चाहिँ ब्याङ्कमा नै राख्ने विचारमा छु," उनी भन्छन्।
मध्यमवर्गका मानिसहरू प्रभावित
उनको चिन्ताले शेअर बजारमा पैसा लगाउने लाखौँ मध्यमवर्गीय भारतीयहरूको प्रतिनिधित्व गर्छ। भारतमा ठूलादेखि साना सहरसम्मका मानिसहरूले शेअर बजारमा पैसा लगाएका छन् र त्यो त्यहाँको वित्तीय क्रान्तिको एउटा हिस्सा बनेको छ।
लगानीका लागि उपयुक्त रणनीति भनेको 'सिस्टमेटिक इन्भेस्टमेन्ट' (एसआईपी) हुन सक्छ। त्यसमा कोषहरूले मासिक रूपमा निश्चित रकम सङ्कलन गर्ने गर्छन्।
भारतमा एसआईपीका माध्यमबाट लगानी गर्नेको सङ्ख्या पाँच वर्षअघिको तुलनामा तीन गुणाले बढेको छ।
पहिलो पटक लगानी गर्ने धेरै मानिसहरू विशेष गरी उच्च प्रतिफलको वाचा गरिएका क्षेत्रमा आकर्षित हुन्छन्। उनीहरूमा जोखिमको सीमित ज्ञान हुने गर्छ।
सामाजिक सञ्जालको प्रभाव
त्यस्ता व्यक्तिहरूलाई विशेष गरी यूट्यूबलगायतका सामाजिक सञ्जालमा चर्चित 'इन्फ्लुअन्सर'हरूले प्रभावित गरेका हुन्छन्।
सामाजिक सञ्जालका त्यस्ता प्रभावशाली व्यक्तिहरूमा विज्ञसहित लगानीबारे खासै ज्ञान नभएका सामग्री उत्पादकहरू पनि हुने गर्छन्।
एक जना अवकाशप्राप्त बजार प्रबन्धक तरुण सर्कारलाई भेट्दा भारतका नयाँ लगानीकर्ताहरूको झलक देखिन्छ।
उनले कर नलाग्ने एक सरकारी सञ्चयकोषमा रकम जम्मा गरेका थिए। गत वर्ष उनको खाताको अवधि पूरा भयो र उनले रकम फिर्ता पाए।
त्यसपछि उनले शेअरमा बेहोरेको पहिलेको घाटालाई दृष्टिगत गरी आफ्नो अवकाशप्राप्त जीवनका लागि सुरक्षित लगानीको बाटो खोजे।
यसपालि उनले सल्लाहकारको सहायतामा म्यूचुअल फन्डमा लगानी गरे।
"मैले मेरो ८० प्रतिशत बचत म्यूचुअल फन्डमा राखेको छु र २० प्रतिशत मात्रै ब्याङ्कमा छ। अहिले आएर मेरो सल्लाहकारले मलाई यदि हृदयाघात नहोस् भन्ने चाहने हो भने छ महिनासम्म आफ्नो लगानीको अवस्था के छ भनेर नहेर्नू भनेका छन्।"
अहिले उनी आफ्नो कोषलाई स्टक बजारमा सार्नु सही निर्णय थियो कि थिएन भनेर पूर्ण रूपमा निश्चित हुन सकेका छैनन्।
"म अनभिज्ञ र आत्मविश्वासी दुवै छु," उनी भन्छन्।
"म के भइरहेको छ र किन बजार यस्तो भइरहेको छ भन्नेबारे अनभिज्ञ छु तर पनि विश्वस्त किन छु भने इन्स्टाग्रामका 'विज्ञहरूले' लगानी चाँडै लाखौँ कमाइ हुन सक्छ भनिरहेका छन्। यसै बेला मलाई के पनि थाहा छ भने म धोका र प्रचारको जालमा फस्न पनि सक्छु।"
किशोर पुस्ताको आकर्षण
सर्कार टेलिभिजन शोहरूमा शेअर बजारबारे गरिएका उत्साहजनक टिप्पणीहरू र ह्वाट्स्याप समूहमा आएका त्यस्तै खाले च्याटबाट बजारतर्फ आकर्षित भएका थिए।
"टिभीमा प्रस्तोताहरूले शेअर बजारबारे कुरा गर्छन् र मेरो ह्वाट्स्याप समूहका मानिसहरू पनि उनीहरूले शेअर बजारबाट कमाएको कुरा मात्र गर्छन्," उनले भने।
उनको फराकिलो अपार्टमेन्ट कम्प्लेक्समा किशोरहरू समेत शेअरमा लगानीबारे चर्चा गर्छन्।
एक दिन ब्याडमिन्टन खेल्ने क्रममा एक जना किशोरले उनलाई टेलिकमको शेअरबारे उत्साहित हुने खालको जानकारी दिए।
"जब तपाइँले वरपर यस्तो सुन्नुहुन्छ अनि तपाइँलाई पनि किन प्रयास नगर्ने? भन्ने हुन्छ। मैले पनि त्यस्तै गरेँ तर त्यसपछि बजार ओरालो लाग्यो।"
यद्यपि उनी आशावादी हुँदै भन्छन्, "मलाई लाग्छ बजार बढ्छ र मेरो म्यूचुअल फन्डको ग्राफ हरियो हुनेछ।"
भारतमा अधिक जोखिम लिएर पहिले नै धेरै पैसा गुमाइसकेकाहरू अरू पनि छन्।
छिटो धनी बन्न सकिने भिडिओ हेर्ने र त्यसैको प्रभाव तथा प्रलोभनमा परेर रमेश (परिवर्तित नाम) ले सापटी लिएर कोभिड महामारीका बेला शेअर बजारमा लगाए।
उनी पश्चिम भारतको एउटा सानो औद्योगिक सहरका सामान्य जागिरे हुन्।
उनले यूट्यूब भिडिओहरू हेरेर धेरै कमाउने आशामा जोखिमपूर्ण रूपमा शेअरमा लगानी गरे र पैसा डुबाए।
यसै महिनामा मात्र उनले १,८०० डलर भन्दा बढी रकम गुमाए। त्यो भनेको उनको वार्षिक तलब भन्दा पनि बढी हो।
त्यसपछि उनले शेअर कारोबार गर्ने आफ्नो खाता बन्द गरेर अब कहिल्यै त्यो बाटोमा नलाग्ने प्रण गरेका छन्।
"मैले सापटी लिएको थिएँ, अहिले मलाई ऋण दिनेहरू मेरो पछाडि लागेका छन्," उनी भन्छन्।
गुमाउनेहरू
रमेश एक करोड १० लाख भारतीय मध्येएक हुन् जसले नियामक निकायहरूले आवश्यक कदम चाल्नुअघि नै २० अर्ब डलरभन्दा बढी गुमाए।
लगानी तथा आर्थिक मामिलासम्बन्धी सुझाव दिने एक व्यक्ति समीर दोशी भन्छन्, "यो अहिलेको गिरावट कोभिड महामारीका समयमा भएको भन्दा फरक छ।"
"त्यति बेला हामीसँग खोपमार्फत् सुधारका लागि स्पष्ट मार्ग थियो। तर अहिले ट्रम्पको नीतिसहितका कारणले अनिश्चितता बढ्ने देखिएको छ र हामीलाई थाहा छैन यसपछि अब के हुन्छ?"
डिजिटल माध्यमसहिसत सरकारको लिएको वित्तीय समावेशीकरणको नीतिलगायत कारण एवं स्मार्टफोनबाटै प्रयोग गर्न सकिने माध्यमका कारण शेअर बजारमा लगानी गर्न सहज भएको छ।
युवाहरू परम्परागत सम्पत्तिको साटो नयाँ विकल्प खोज्दै त्यसतर्फ व्यापक रूपमा आकर्षित भएका छन्।
त्यसैले धेरै नयाँ भारतीय लगानीकर्ताहरूले वास्तविकताबारे थाहा पाउनु जरुरी भएको छ।
"शेअर बजार भनेको जुवा खेल्ने अड्डा होइन। तपाईँले आफ्ना अपेक्षाको पनि व्यवस्थापन गर्नुपर्छ," लेखिका र वित्तीय साक्षरता फैलाउने एक व्यक्ति मोनिका हलान भन्छिन्।
"तपाईँ इक्विटीमा त्यस्तो रकम मात्र लगानी गर्नुहोस्, जुन तपाईँलाई कम्तीमा सात वर्षका लागि आवश्यक पर्दैन। यदि तपाईँ जोखिम लिन तयार हुनुहुन्छ भने पनि त्यसको नकारात्मक पक्षबारे बुझ्नुहोस्। मैले कति गुमाउन सक्छु र म त्यो घाटा सहन सक्छु कि सक्दिनँ भन्ने हेर्नुहोस्।"
बजारमा देखिएको गिरावटले भारतको मध्यम वर्गलाई खराब समयमा असर गरेको देखिन्छ।
अहिले आर्थिक वृद्धि सुस्त भएको छ भने पारिश्रमिकको अवस्था स्थिर देखिन्छ।
निजी क्षेत्रबाट हुने लगानी वषौँदेखि सुस्त छ र रोजगारी सिर्जना खासै हुन सकेको छैन।
यस्ता चुनौतिसामु धेरै नयाँ लगानीकर्ताले बजार बढ्ने प्रलोभनमा अहिले अप्रत्याशित घाटाको सामना गरिरहेका छन्।
पेचिलो अवस्था
एक जना वित्तीय विश्लेषक अनिन्द्यो चक्रवर्ती भन्छन्, "सामान्य बेला बचतकर्ताहरूले छोटो अवधिको घाटा बेहोर्न सक्छन् किनभने उनीहरूको स्थिर आम्दानी हुन्छ र त्यसलाई उनीहरू आफ्नो बचतमा थप्दै जान्छन्।"
"अहिले हामी मध्यम वर्गका निम्ति ठूलो आर्थिक सङ्कटको बीचमा छौँ। एकातिर प्रतिष्ठित भनिएका जागिरहरूको अवसर घट्दै छन् र त्यस्ता जागिरमा पाइने पारिश्रमिक पनि बढ्न सकेको छैन। अर्कोतिर मध्यमवर्गीय परिवारले सामना गरेको वास्तविक मूल्यवृद्धि सरकारले निकाल्ने औसत खुद्रा मुद्रास्फीतिभन्दा फरक देखिन्छ।"
उनले यस्तो बेलामा शेअर बजारमा हुने सुधार मध्यम वर्गको आन्तरिक खर्चका लागि फाइदाकारी नहुने उनको तर्क छ।
जयदीप मराठेजस्ता वित्तीय सल्लाहकारहरू यो अस्थिरता अझै छदेखि आठ महिनासम्म जारी रह्यो भने केही मानिसले शेअर बजारबाट पैसा निकालेर सुरक्षित गर्न ब्याङ्कमामा जम्मा गर्न लैजाने ठान्छन्।
यद्यपि सबैले विश्वास गुमाएका छैनन् र उनीहरू बजार पुन: उक्सिने प्रतीक्षा गरिरहेका छन्।
-बीबीसीबाट साभार