काठमाण्डौ । केही समयअघिसम्म आर्थिक मन्दी र महँगो ब्याजदरको दबाबमा सुस्ताएको नेपालको आवास बजारमा पुनः चहलपहल देखिन थालेको छ । बैंक तथा वित्तीय संस्थाहरुले घर कर्जाको ब्याजदर घटाउन थालेपछि घर खरिद तथा निर्माणतर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको हो ।
पछिल्लो समय बैंकहरुबीच होम लोन बजारमा प्रतिस्पर्धा बढेसँगै ग्राहकले सस्तो ब्याजदर, लचिलो किस्ता सुविधा र सरल प्रक्रिया पाउन थालेका छन् । यसले आवास क्षेत्रमै नयाँ उत्साह थपिएको व्यवसायीहरुको भनाइ छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले पनि आवास कर्जामा विस्तार भइरहेको संकेत गरेको छ । आर्थिक गतिविधि सुस्त रहँदा पनि घर निर्माण तथा खरिदमा जाने कर्जा भने बढ्दो क्रममा देखिएको छ ।
यहीबीच, सस्तो ब्याजदरमै घर निर्माण वा खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै Citizens Bank International Limited ले नयाँ ‘सिटिजन्स होम लोन’ योजना सार्वजनिक गरेको छ ।
बैंकका कन्ज्युमर बैंकिङ युनिट प्रमुख धिरज राज जोशीका अनुसार यस योजनाअन्तर्गत ग्राहकले ७ वर्षसम्म वार्षिक ६.९९ प्रतिशतकै स्थिर ब्याजदरमा कर्जा लिन सक्नेछन् ।
उनका अनुसार प्रारम्भिक ७ वर्षपछि भने बैंकको प्रचलित बेस रेटमा केवल १ प्रतिशत प्रिमियम मात्रै थप गरी ब्याजदर निर्धारण गरिनेछ ।
“घर वा अपार्टमेन्ट खरिद तथा निर्माण गर्न चाहने ग्राहकलाई लक्षित गरेर यो योजना ल्याइएको हो,” जोशीले भने, “अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको विद्यमान होम लोनलाई पनि सिटिजन्स बैंकमा टेकओभर गर्न सकिनेछ ।”
बैंकका अनुसार कर्जाको अधिकतम अवधि २५ वर्षसम्म रहनेछ । ग्राहकको आम्दानी र भुक्तानी क्षमताअनुसार कम अवधिका लागि पनि कर्जा लिन सकिने व्यवस्था गरिएको छ ।
विशेषगरी पहिलो पटक घर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै बैंकले थप सुविधा समेत दिने जनाएको छ । यस्तो ग्राहकलाई अन्य सामान्य होम लोनको तुलनामा केही बढी कर्जा रकम उपलब्ध गराइने भएकाले सुरुआती आफ्नै लगानी कम राखेर पनि घर खरिद गर्न सकिने बैंकको दाबी छ ।
घर वा अपार्टमेन्ट मात्रै होइन, ग्राहकले चाहेको अवस्थामा केवल जग्गा खरिदका लागि पनि होम लोन लिन सक्ने सुविधा बैंकले दिएको छ । यद्यपि यस्तो कर्जामा लागू हुने ब्याजदर भने केही बढी हुन सक्ने र ग्राहकसँगको छलफलपछि निर्धारण गरिने जोशीले बताए ।
बैंकका अनुसार देशभर रहेका आफ्ना २०० शाखामार्फत यो सेवा उपलब्ध हुनेछ ।
प्रक्रिया र शुल्क कति ?
सिटिजन्स बैंकबाट होम लोन लिन ग्राहकले कुल कर्जा रकमको ०.७५ प्रतिशत स्ट्याण्डर्ड प्रोसेसिङ शुल्क तिर्नुपर्नेछ ।
यसका अतिरिक्त सीआईसी शुल्क, सम्पत्ति मूल्यांकन शुल्क तथा धितो दर्ता शुल्क समेत लाग्ने बैंकले जनाएको छ । धितो दर्ता शुल्क मालपोत कार्यालयले, सीआईसी शुल्क कर्जा सूचना केन्द्रले तथा मूल्यांकन शुल्क इन्जिनियर वा मूल्यांकनकर्ताले निर्धारण गर्नेछन् ।
कुन–कुन कागजात चाहिन्छ ?
होम लोनका लागि ग्राहकले नागरिकता प्रमाणपत्र, प्यान कार्ड तथा विवाहित भए विवाह दर्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
त्यसैगरी धितो सम्पत्तिसम्बन्धी लालपुर्जा, मालपोत तिरेको रसिद, निर्माण इजाजतपत्र, नक्सापास र निर्माण सम्पन्न प्रमाणपत्र समेत आवश्यक पर्नेछ ।
आम्दानी पुष्टि गर्न तलब प्रमाणपत्र, घरभाडा सम्झौता, व्यवसायसम्बन्धी कागजात, अडिट प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र तथा अन्य आयस्रोतसम्बन्धी कागजात समेत पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

