काठमाण्डौ । वित्तीय रुपमा कमजोर कम्पनीहरुको मूल्य मिलेमतोमा कसरी माथि उठाइँदैछ भन्ने पछिल्लो उदाहरण बनेको छ घलेम्दी हाइड्रो लिमीटेड । प्रतिसेयर नेटवर्थदेखि प्रतिसेयर आम्दानीसम्म पनि नेगेटिभ रहेको यो कम्पनीमा पछिल्लो समय खेलाडीको एउटा समूह लागेको छ र मूल्य उचाल्ने काम गरिरहेको छ ।
निश्चित सेयर खेलाडीहरुको क्लोज सर्किट बनाएर, सामाजिक सञ्जालहरुको दुरुपयोग गर्दै यसअघि केही सेयर खेलाडीहरुको शैलीलाई पछ्याउँदै घलेम्दीमा खेल्ने काम भइरहेको पाइएको हो ।
कुनै पनि कम्पनीको सेयरको नामै तोकेर त्यो किन्न वा बेच्न उक्साउनु धितोपत्र कानूनले दण्डनीय मान्छ । यस्तै कुनै क्लोज ग्रुप बनाएर सेयर किनबेचका लागि उक्साउनु, कर्नरिङ गर्नु र आफूले किनेको सेयरको यो वा त्यो बहानामा अनावश्यक प्रचारबाजी गर्नुलाई समेत धितोपत्र कारोबार ऐनले गैरकानूनी मानेको छ । तर नियमन कमजोर भएको लाभ उठाउँदै विभिन्न समूहले पछिल्लो समय एउटा÷एउटा स्क्रिप्ट उठाउँदै त्यसमा खेल्ने प्रवृति मौलाउँदो छ । सामाजिक सञ्जालको पनि उस्तै दुरुपयोग गर्दै सोझालाई आफूले किनेको सेयर उच्च मूल्यमा पुर्याएर भिडाउने र आफू एक्जिट हुने खेल चलिरहेको पाइएको छ ।
कर्नरिङ र पम्प एण्ड डम्पको खेल
कुनै व्यक्ति वा समूह मिलेर कुनै कम्पनीको शेयर किनेर थुपार्ने र बजारमा अभाव सिर्जना गरी मूल्य बढाउने काम कर्नरिङ हो । यो धन्दामा कम्पनीको शेयरको माग अत्यधिक छ भन्ने देखाउन कृत्रिम खरिद आदेश गर्ने कार्य समेत हुन्छ ।
यस्तै घलेम्दीमा पम्प एण्ड डम्पको खेल समेत भइरहेको पाइएको छ । घलेम्दीको मूल्य उचाल्ने योजनाकारले बजारमा गलत हल्ला फैलाएर शेयरको मूल्य कृत्रिम बढाउने काम गरेको देखिएको छ । यो ठगीधन्दामा मूल्य बढेपछि योजनाकार(खेलाडी)ले आफ्नो शेयर बेच्छन् र सर्वसाधारणलाई भिडाएर आफू भने बजारबाट भाग्छन् । घलेम्दीमा अहिले यस्तै खेल चलिरहेको छ ।
खुलेआम प्रचार
स्रोतहरुका अनुसार बतास ग्रुप, एउटा ब्रोकर कम्पनीका सञ्चालक तथा कर्मचारी, एउटा सूचीकृत संस्थाका सञ्चालक र केही सेयर खेलाडीहरुको मिलेमतोमा घलेम्दीमा मूल्य उचाल्ने खेल भइरहेको छ । यो समूहले सोझा लगानीकतालाई समेत ‘घलेम्दीको मूल्य निकै माथि पुग्छ’ भन्दै सेयर भिडाउने काम गरिरहेका समेत पाइएको छ । घलेम्दीको सेयर किनेका एक लगानीकर्ताले बिजशालासँग भनेका छन्–‘मूल्य १००० पुग्छ भनेर सुनिल दाईहरुले भन्नुभयो र मैले पनि किनेको छु । उनले सुनिल दाई को हुन् भन्ने चाहिँ खुलाएका छैनन् ।’
यस्तै, बिजशालाको सम्पर्कमा आएका अर्का लगानीकर्ताले सेयर बजारमा केही पुराना खेलाडीहरुले अपनाउने शैलीलाई पछ्याउनेहरुको जमात बढ्न थालेको र पछिल्लो समय विभिन्न नामको फेसबुक आईडीबाट यस्तै पोष्टहरु आइरहेका भन्दै सोझालाई जोगाउन समेत मिडियाहरुले हेरिदिनुपर्ने अनुरोध गरेका थिए । उनले घलेम्दीको नाममा क्लोज ह्वाट्सअप ग्रुप बनाएर त्यसमा जोडिन साधारण लगानीकर्तालाई उक्साउने काम भइरहेको र त्यहीँबाट कम्पनी विशेषको प्रचार भइरहेको भन्दै छानबिनको माग गरेका छन् ।
उनको सूचनापछि हामीले केही नामहरुको फेसबुक स्टाटस, ह्वाट्सग्रुप लगायतमा प्रवेश गरेर हेर्दा स्क्रिप्टको नाम नै तोकेरका उक्साउने काम गरेको देखियो । (यससँग सम्बन्धित प्रमाणहरु सुरक्षित छन्) । यस्तै घलेम्दीमा पसेका खेलाडीहरुले ती प्ल्याटफर्महरुमा यसको खुलेआम प्रचारप्रसार गरिरहेका पाइएको छ ।
नियामक धितोपत्र बोर्डको कमजोर नियमनको फाइदा उठाउँदै विगत केही दिनदेखि खेलाडीहरुले घलेम्दी हाइड्रोलाई विभिन्न रुपमा प्रस्तुत गर्दै प्रचार प्रसार गरिरहेका छन् । केहीले त ‘घलेम्दी अर्को सिएचडिसी हुन्छ’ भन्दै यसको मूल्य निकै माथि पुग्ने दाबी समेत सामाजिक सञ्जालबाट हालिरहेका पाइएको छ । सिएचडिसीको अहिलेको बजारको मूल्य प्रतिकित्ता २२०० माथि छ । यसरी घुमाउरो ढंगले वित्तीय रुपमा धराशायी अवस्थामा रहेको कम्पनीको मूल्य २२०० पुग्छ भन्दै सोझालाई उराल्ने काम भइरहेको देखिएको हो ।
कस्तो छ वित्तीय अवस्था ?
चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको घलेम्दीको वित्तीय अवस्था ठीक छैन । *पब्लिकतर्फको ४९ लाख ५० हजार र संस्थापकतर्फको १ करोड १५ लाख ५० हजार गरी यो कम्पनीको कुल १ करोड ६५ लाख कित्ता नेप्सेमा सूचीकृत छ ।
खेलाडीहरुले घलेम्दीको दोश्रो बजार मूल्य एकमहिनाको अवधिका २३० प्रतिकित्ताबाट बढाएर ३१० रुपैयाँ पुर्याइसकेका छन् । तर, एकमहिनाको अन्तरालमा यसरी मूल्य अचाक्ली बढ्नु पछाडिको भरपर्दो कारण र आधार भने केही पनि छैन । यसले समेत यो कम्पनीमा प्रष्ट रुपमा सेयर कर्नरिङ भएको देखाउँछ । खेलाडीहरु पम्प एण्ड डम्पको रणनीतिसहित यसको मूल्य बढाउने खेलमा लिप्त छन् भन्ने पनि देखाउँछ ।
चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको कुरा गर्दा घलेम्दीको प्रतिसेयर नेटवर्थ ९८.२० रुपैयाँ मात्र छ । यो भनेको नेगेटिभ नेटवर्थ हो । यस्तै, प्रतिसेयर आम्दानी ०.१० रुपैयाँले नेगेटिभ छ । मूल्य आम्दानी अनुपात त अझ डरलाग्दो अर्थात १९८२ गुणा छ ।
दोश्रो त्रैमाससम्ममा कर तिरेपछि कम्पनी करिब १७ लाख रुपैयाँले घाटामा छ । गत वर्षको सोही अवधिको तुलनामा घाटा भने कम हुँदै गएको देखिन्छ ।
कुल १ अर्ब ६५ करोड चुक्तापूँजी रहेको यो कम्पनीले समीक्षा अवधिमा ६ करोड ७४ लाख रुपैयाँ बिजुली बिक्रीबाट र २ करोड २५ लाख मुद्दति निक्षेपको ब्याजबाट आम्दानी गरेको देखिन्छ ।
कर्मचारी सुविधा बढिरहेको, प्रशासनिक खर्च केही घटेको, वित्तीय खर्च केही घटेको वित्तीय विवरण प्रकाशन गरेको छ । यो कम्पनीको दायीत्व भने अत्यन्त कम छ ।
कम्पनीले ६५ करोड मुद्दति निक्षेपमा राखेको छ भने ५० करोड ७० लाख सांग्रीला उर्जा लिमीटेडमा लगानी गरेको छ ।
गैरकानूनी काम, कडा दण्डसजाय
धितोपत्र सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न २०८० सालमा बनेको ऐनले सेयर कर्नरिङ गर्ने वा कुनै कम्पनी विशेषको सेयर किनाउने वा बेचाउने उद्देश्यले उक्साउने कामलाई अपराध मानेर त्यस्तोमा संलग्नहरुमाथि कडा सजायको व्यवस्था गरेको छ ।
ऐनको दफा (९६) मा लेखिएका छ :
धितोपत्र बजारलाई प्रभावित पारेमाः
कसैले धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली देहायका कुनै काम गरेमा धितोपत्र बजारलाई प्रभावित गरेको मानिनेछः–
(क) कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने,
(ख) कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य घटाउने,
(ग) कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्यलाई स्थिर बनाउने ।
कर्नरिङको अपराध यही दफामा आकर्षित हुने बोर्डका एक अधिकारीले जानकारी दिए ।
यो कसुर गर्नेलाई के सजाय हुन्छ भन्ने सोहि ऐनको दफा १०१ को उपदफा २ मा दण्ड सजाय सम्बन्धी व्यवस्था गरिएको छ । जहाँ भनिएको छः दफा ९४, ९५ र ९६ बमोजिमको कुनै काम गर्नेलाई पचास हजार रुपैया देखि एकलाख पचास हजार रुपैंयासम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र त्यस्तो काम कारबाहीबाट कसैलाई हानी नोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानी नोक्सानी समेत भराइदिनुपर्नेछ ।