काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ(फेड)ले ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । दुई दिनको मौद्रिक नीतिको बैठकपश्चात बुधबार फेडले ब्याजदरमा कुनैपनि परिवर्तन नगर्ने निर्णय गरेको हो ।
फेडका अधिकारीहरु २ प्रतिशतको मुद्रास्फितीको लक्ष्यतर्फ अमेरिकी अर्थतन्त्र अग्रसर भईरहेको वा अर्थतन्त्र अपेक्षा गरेभन्दा बढी कमजोर बनिरहेको प्रमाणको प्रतिक्षामा रहेकाले ब्याजदर स्थिर राखिएको जनाइएको छ ।
फेडले ब्याजदर ४.२५ प्रतिशतदेखि ४.५ प्रतिशत कायम राखेको छ ।
बुधबार प्रकाशित आँकडाअनुसार अधिकारीहरुले यो वर्ष दुईपटकसम्म कर्जाको दर कटौती गर्नसक्ने अपेक्षा गरेका छन् । ८ जना अधिकारीहरुले भने एकपटकसम्म वा कटौती नै नहुने अनुमान गरेका छन् ।
फेडका अध्यक्ष जेरोमी पावेलले अहिले अमेरिकी उपभोक्ता र व्यवसायमा उच्च अनिश्चितता व्याप्त रहेको स्विकार गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबलम्बन गरेको ट्यारिफका नीतिहरुले मु्द्रास्फिती र कमजोर आर्थिक वृद्धिको सम्भावना बढाएको छ । यसका साथै उग्र आप्रवासी नीतिले समेत अमेरिकामा केही निश्चित उद्योगहरुमा श्रमिक अभाव हुने विश्लेषकले बताएका छन् ।
पावेलले ट्रम्पको ट्यारिफ नीतिका कारण फेडले यस वर्षका लागि मुद्रास्फितीदर उच्च रहने आँकलन गरेको बताएका छन् । तर सम्भावित व्यापार युद्धका कारण उनले यसको प्रभाव कतिसम्म हुन्छ भन्नेबारे एकिनताका साथ भन्न नसकिने बताए ।
यससँगै ट्रम्पले बुधबार अझै धेरै ट्यारिफहरु लगाउने बताउदै जसरीपनि ब्याजदर घट्नु पर्ने बताएका छन् ।