काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नोक्सानीबाट नाफामा फर्कँदै वित्तीय सुधारको सकारात्मक संकेत दिएको छ। गत वर्षको यही अवधिमा २२ करोड रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको बैंक यसपालि १० करोड ७७ लाख रुपैयाँ नाफामा फर्किएको छ। सेयरधनीका लागि अर्को उल्लेखनीय पक्ष त्रैमासको वितरणयोग्य रकममा रहेको ऋणात्मक अवस्था उल्लेख्य रूपमा घट्नु हो।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद नोक्सानी २२ करोड ४ लाख ११ हजार रुपैयाँ थियो। चालु वर्षको सोही अवधिमा १० करोड ७७ लाख ३ हजार रुपैयाँ खुद नाफा भएको छ। यसरी बैंकको अन्तिम वित्तीय नतिजामा ३२ करोड ८१ लाख रुपैयाँको सुधार आएको छ।
यो परिवर्तनले प्रतिसेयर आम्दानीलाई पनि ऋणात्मक अवस्थाबाट सकारात्मक बनाएको छ। गत वर्षको पहिलो त्रैमासमा माइनस ५.९७ रुपैयाँ रहेको आधारभूत प्रतिसेयर आम्दानी अहिले २.६८ रुपैयाँ पुगेको छ।
सेयरधनीको प्रतिफलका दृष्टिले त्रैमासको वितरणयोग्य रकममा आएको सुधार विशेष अर्थपूर्ण छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो रकम १ अर्ब १९ करोड २९ लाख रुपैयाँ ऋणात्मक थियो। अहिले ऋणात्मक रकम घटेर ४५ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ। अर्थात् वितरणयोग्य घाटा ७३ करोड ५२ लाख रुपैयाँ अर्थात् करिब ६१.६३ प्रतिशतले घटेको छ।
गत वर्ष पहिलो त्रैमासमा ठूलो वितरणयोग्य घाटा हुँदासमेत बैंकले वर्षको अन्त्यसम्मको नतिजाका आधारमा ४ प्रतिशत लाभांश वितरण गरेको पृष्ठभूमिमा यसपालिको तुलनात्मक रूपमा सानो घाटाले सेयरधनीका लागि आशा बढाएको छ। अघिल्लो वर्षभन्दा कम वितरणयोग्य घाटा र सकारात्मक खुद नाफाबाट वर्ष सुरु भएकाले बाँकी त्रैमासमा सुधार कायम राख्न सके प्रतिफल क्षमता बलियो बनाउने अवसर देखिन्छ।
यद्यपि अहिलेको विवरणले लाभांश सुनिश्चित गरिसकेको छैन। त्रैमासको वितरणयोग्य रकम अझै ऋणात्मक छ भने सञ्चित आम्दानी पनि ४४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक छ। त्यसैले आगामी आम्दानी र असुली सुधारले यी घाटा पूर्ति गर्दै जाने अवस्था लाभांश क्षमताका लागि निर्णायक हुनेछ।
बैंकलाई नाफामा फर्काउने प्रमुख आधार सम्भावित कर्जा नोक्सानी व्यवस्थापन खर्चमा आएको कमी हो। गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ७३ करोड ७५ लाख रुपैयाँ रहेको इम्पियरमेन्ट खर्च यसपालि ३७.९३ प्रतिशतले घटेर १ अर्ब ७ करोड ८५ लाख रुपैयाँमा झरेको छ। यो खर्चमा मात्रै करिब ६५ करोड ९० लाख रुपैयाँको कमी आएको छ।
व्यवसायको आकार पनि विस्तार भएको छ। अघिल्लो वर्षको असोज मसान्तको तुलनामा निक्षेप १२.७८ प्रतिशतले बढेर २ खर्ब ४२ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। कर्जा तथा सापटी ४.२१ प्रतिशतले बढेर १ खर्ब ८३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। खुद शुल्क तथा कमिसन आम्दानी पनि ५.०७ प्रतिशतले बढेर ३६ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
स्रोतको लागत घट्नु अर्को सकारात्मक पक्ष हो। निक्षेपको लागत गत वर्षको असोजको ४.०५ प्रतिशतबाट घटेर ३.१५ प्रतिशतमा आएको छ। आधारदर पनि ५.९० प्रतिशतबाट ४.८७ प्रतिशतमा झरेको छ। यसले प्रतिस्पर्धी दरमा कर्जा विस्तार गर्ने आधार दिन सक्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।