काठमाण्डौ । राजावादी प्रदर्शनकारीहरुको ढुंगामूडा प्रहार तथा सुरक्षाकर्मीसँगको दोहोरो झडपका कारण तीनकुनेस्थित रोयल ब्याङ्केट क्षतविक्षत भएको छ ।
शुक्रबार राजावादीहरुले काठमाण्डौको तीनकुनेमा प्रदर्शनको कार्यक्रम राखेका थिए । प्रदर्शन सुरु नहुँदै प्रहरीले तोकेको निषेधित क्षेत्र, बानेश्वरतर्फ भीड अगाडि बढ्न खोजेपछि झडप भएको थियो । सो क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा र इँटा प्रहार गरेका थिए ।

प्रहरीले समेत दर्जनौ सेल टियर ग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो । दिनभरजसो नै तनावपूर्ण बनेको तीनकुने क्षेत्रमा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली पनि चलाउनु परेको थियो । गोली लागेर केही प्रदर्शनकारी घाइते भएको दाबी गरिएको छ ।

सो क्रममा प्रदर्शनकारीहरु उग्र बनेर तीनकुने क्षेत्रका व्यक्तिका निजी घर, व्यवसायिक भवन तथा होटल र रेष्टुराहरुमा समेत जथाभावी तोडफोड गरेको थियो । यही क्रममा प्रदर्शनकारीहरुले रोयल ब्याङ्केटमा पनि तोडफोड गरेका हुन् ।


तोडफोडबाट सो ब्याङ्केटको अगाडिपट्टिको रेष्टुरेन्ट क्षतविक्षत भएको छ । कर्मचारीहरुको भागभाग भएको छ भने भित्र रहेका कफी मेसिन, फ्रीज, टेबल कुर्सीहरुमा समेत क्षति पुगेको छ ।

घटनापछि हाम्रा संवाददाता त्यहाँ पुग्दा रोयल ब्याङ्केटको दृश्य कुनै संग्रामस्थलको जस्तो देखिन्थ्यो ।

सोही ब्याङ्केटछेउकै निजी घरमा समेत प्रदर्शनको क्रममा आगलागी भएको थियो । अन्य छेउछाउका घरहरुको सिसा समेत प्रदर्शनकारी फुटाइदिएका थिए ।

उनीहरुले सोही लाइनमा रहेको अन्नपूर्णपोष्टको कार्यालयमा समेत तोडफोड गरी आगजनीको प्रयास गरेका थिए ।
