काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ८ फाइनान्स कम्पनीले नाफा कमाएका छन् । बाँकी ७ वटाको घाटा चुलिँदै गएको छ ।
तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले समस्याग्रस्त घोषणा गर्न नदिएको र उनी प्रभावमा परेर कारबाहीबाट जोगाएको पोखरा फाइनान्स र जानकी फाइनान्सको अवस्था झनै दयनीय देखिएको छ ।
अधिकारीको आशिर्वादले तत्काल समस्याग्रस्त घोषणा हुनबाट जोगिएको पोखरा फाइनान्सको घाटा चुलिएर ७५ करोड ८० लाख माथि पुगेको छ ।
यस्तै, जानकी फाइनान्सको घाटा समेत १३ करोड ६० लाख बढी देखिएको छ ।
उच्च व्यवस्थापनको हेराफेरीमा अलमलिएको र संस्थागत सुशासन निकै कमजोर बन्दै गएका कारण अस्तव्यस्त भएको गोर्खाज फाइनान्स ४ करोड ९० लाख घाटामा पुगेको छ ।
बेस्ट फाइनान्स ३ करोड ७० लाख घाटामा छ भने अघिल्लो व्यवस्थापनले कमाउने माध्यम मात्र बनाई वित्तीय रुपमा खोक्रो पारी छाडेको समृद्धि फाइनान्सको घाटा समेत चुलिएर ८ करोड २० लाखको उचाईमा पुगेको छ ।
रिलायन्स फाइनान्सको घाटा अझ बढेर ११ करोड पुगेको छ भने गुहेश्वरी मर्चेन्ट पनि २ करोड ३० लाख घाटामा गएको छ ।
सबैभन्दा धेरै नाफा आईसीएफसी फाइनान्सको देखिएको छ । ८ महिनाको अवधिमा यो फाइनान्सले १४ करोड २० लाख नाफा कमाएको छ । मञ्जुश्रीले १३ करोड ६० लाख नाफासहित आईसीएफसीलाई पछ्याइरहेको देखिएको छ ।
मल्टीपर्पस फाइनान्सले २ करोड ४० लाख नाफा कमाउँदा सेन्टल फाइनान्सले १ करोड ३० लाख नाफा कमाउने सफलता पाएको छ ।
नेपाल फाइनान्स १ करोड ३० लाख नाफामा छ भने गुड्विल फाइनान्स २ करोड १० लाख श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी २ करोड ९० लाख नाफामा छ । प्रोग्रेसिभको नाफा बढेर ८ करोड ९० लाखको उचाईमा पुगेको छ ।
आठ महिनामा कुन फाइनान्स नाफामा ? को घाटामा ? टेबल हेर्नुस् :
