काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ ।
आईपीओ स्वीकृतिको पाइपलाइनमा रहेका कम्पनीहरुको विषयमा विवरण माग्दै धितोपत्र बोर्डलाई लेखिएको चिठी लिएर अख्तियारका ३ कर्मचारी धितोपत्र बोर्ड पुगेका हुन् ।
उनीहरुले त्यहाँ केही घण्टा समय ब्यतीत गरेर कर्मचारीसँग आईपीओको पाइपलाइनमा रहेका कम्पनीहरुको वित्तीय विवरण र कुन कम्पनीको प्रक्रिया कहाँ र कुन अवस्थामा पुग्यो भन्ने विषयमा लिखित जानकारी मागेका थिए ।
'एउटा सामान्य चिठी लिएर ३ जना कर्मचारीहरु छापा मार्ने शैलीमा आएका थिए ।' धितोपत्र बोर्डका एक कर्मचारीले भने -'इमेल नै गरेर सूचना माग्न सकिने सामान्य विषयमा तीनजना कर्मचारी चिठी नै लिएर आउनुलाई हामीले अस्वभाविक रुपमा लिएका छौं ।'
पछिल्लो समय धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिचौलियाहरु प्रयोग गरेर आईपीओको पाइपलाइनमा रहेका कम्पनीहरुसँग कमिसन मागेको विषय केही उर्जा उत्पादकहरुले आरोप लगाएका छन् । सोही विषयमा उजुरी परेपछि त्यसको विषयमा कुरा बुझ्न र अनुसन्धान गर्न ३ कर्मचारीको टोलीलाई आधिकारिक चिठीसहित बोर्ड पठाइएको अख्तियार स्रोतले जनाएको छ ।
'हामीले जसरी आईपीओको पाइपलाइनमा रहेका कम्पनीहरु योग्य हुँदा हुँदै कमिसनकै लागि प्रक्रिया रोकेर चलखेल गरियो भन्ने आरोप लागेको छ, त्यसको विषयमा अनुसन्धान गर्ने क्रममा आवश्यक विवरण मागेका हौं र कर्मचारी खटाएर बुझ्ने काम गरेका हौं ।' अख्तियार स्रोतले भन्यो-'यो विषयमा गम्भीर ढंगले अनुसन्धान सुरु गरेका छौं ।'