काठमाण्डौ । सेयर बजारका जानकार तथा सक्रिय लगानीकर्ता सुवास चन्द्र भट्टराईले नेप्सेले छिट्टै अल टाइम हाईको उचाई चुम्ने बताएका छन् । आज राजधानीको एक ब्रोकरहाउसमा भेटिएका भट्टराइले बिजशालासँग छोटो प्रतिक्रिया दिँदै बजारले गति लिदै अब नयाँ उचाईमा पुग्ने दाबी गरे ।
अबको र्यालीले बजारलाई यस अघिको अल टाइम हाई ब्रेक गर्नेमा उनी ढुक्क देखिन्छन् । उनी भन्छन् ‘अहिले बजार सुधारात्मक रुपमा अघि बढेको छ । भर्खर नयाँ गभर्नर आएका छन् । गभर्नर आँउदा बजार उत्साहित बनेको छ । गभर्नरले मौद्रिक नीतिमा यस अघि लगाएका सीमा हटाइदिएमा हालको नयाँ उचाई चुम्न जम्मा ५ सय अंक मात्रै टाढा रहेको छ ।’
उनले थप्दै भने, ‘अघिल्लो बढोत्तरी हेर्यो भने ४५ दिनमा एक हजार अंक बढेको थियो । त्यो भनेको अघिल्लो र्यालीसँग तुलना गर्ने हो भने सूचकको ५० प्रतिशतले बढी हो । अहिले २७ सय विन्दुमा रहेको बजार यसको आधा अर्थात फेरी ५० प्रतिशत बढ्यो भने अब बजार १४ सय अंक फेरि पनि बढ्न सक्छ । त्यो भनेको नेप्से ४ हजार माथि नै हो ।
यस हिसाबले पनि अल टाइम हाई ठूलो विषय नभएको उनको बुझाइ रहेको छ । अल टाइम हाईको उचाईमा पुगेपछि भने बजार उतारचढाव गर्दै अघि बढ्ने उनले आँकलन गरे । त्यो गतिले बजार तल माथि गर्दै ४ हजार १८१ विन्दुसम्म पनि जान सक्छ । उनी भन्छन्, ‘अब बजार तल जाँदैन किनकी अहिले निक्षेपको पाँच प्रतिशतमा नै ब्याजदर रहेको छ । सेयर कर्जानै लिदा पनि ८ प्रतिशतले ब्याजमा पैसा पाइन्छ । अब राज्यले पूँजी बजारलाई सकरात्मक दृष्टिले हर्ने तथा नेपाल टेलिकम जस्ता संस्थाहरुलाई पनि सेयर बजारमा लगानी गर्ने बाटो खोलेमा पूँजी बजारको दीगो विकास हुन्छ ।’
पूँजी बजार नबढी अर्थतन्त्र सबल नहुने बताउदै उनले थपे, ‘अर्थतन्त्र उकास्ने माध्यम पनि पूँजीबजार नै हो । अहिले राज्यको ठूलो लगानी एयपोर्ट, टावर जस्ता क्षेत्रमा फसेको छ । कमजोर बनेका क्षेत्रहरुमा सुधार गर्दै नवनियुक्त गभर्नरले काम गरेमा र अर्थतन्त्रमा सुधार आएको खण्डमा पूँजीबजारले पनि नयाँ फ्डको मार्नेछ ।’
यस्तै उनले पूँजी बजारमा विदेशी लगानी भित्राउने तथा अर्थतन्त्रको सुधार गरेमा अहिले पनि सेयरबजार बुल चरणमा नै रहेको दाबी गरे । यसको लागि गभर्नरले अर्थतन्त्रमा नै सुधार गर्नु पर्नेमा भट्टराईले जोड दिए ।