काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिनको कारोबारमा बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ६२८.९१ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ५९५.७४ विन्दुमा बन्द भयो ।
यस हिसाबले यो साता नेप्सेमा ३३.१७ अंकको गिरावट आयो । अघिल्लो साता पनि नेप्सेमा २६.४७ अंकको गिरावट आएको थियो । यो साता दोस्रो बजारमा ५ दिन कारोबारमा जम्मा ३५ अर्ब १० करोडको सेयर कारोबार भयो । अघिल्लो भने ५२ अर्ब ६० करोडको सेयर कारोबार भएको थियो । यो साता बजार घट्दा कारोबार पनि घट्यो ।
प्राविधिक पक्षः
एघार महिनादेखि बजार साइडवेज
गत वर्ष साउन महिनामा एकैपटक हजार अंकभन्दा उच्च अंकले बढेको बजार त्यसपछि लगातार ११ महिनादेखि साइडवेजमा चलेको देखिन्छ । त्यस समयमा तीन हजारको विन्दु चुमेको बजार त्यसपछि एकपटक २४४० विन्दुसम्म झर्यो । त्यसपछि बजार २९२९ विन्दुसम्म पुगे पनि त्यहाँबाट बजारले माथिको यात्रा तय गर्न भने सकेको छैन ।
यो साता २६ सय विन्दुभन्दा तल झरेको बजारले आगामी केही दिनमा केही अंक गुमाउन भने सक्छ । यद्यपी बजारमा इलिअट वेभको एक्सटेन्डेड् पाँचौ वेभ चल्दा नेप्से ३ हजार ७ सय विन्दुसम्म पनि पुग्न सक्छ ।
क्याण्डल स्टिकको आधारमा
क्याण्डल स्टिकको विकास सबैभन्दा पहिले १८ औ शताब्दिमा जापानबाट भएको हो । यसको प्रयोग सबै भन्दा पहिले एक धान व्यापारिले गरेका थिए । त्यसपछि संसारभर यसको प्रयोग हुँदै आएको छ । क्याण्डल स्टिकको बिश्लेषणबाट सबै भन्दा छिटो बजार तथा कम्पनीको अबस्था बारे जानकारी लिन सकिन्छ । यस आधारमा यो साताको बजारलाई नियाल्दा यो हप्ता बियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा बजारमा आगामी साता बिक्री दबाब परेको बुझिन्छ ।

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई
साप्ताहिक रुपमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार ४ साता पहिले नै मध्य ब्याण्डबाट तल खसेको छ । अपर ब्याण्ड र लोवर ब्याण्ड निकै साँघुरिएको छ । यसले बजारमा उतारचढाव निकै कम रहेको बुझिन्छ । मुमेन्टम इन्डिकेटर आरएसआई न्यूट्रल जोनमा चलेको देखिन्छ । इन्डिकेटरबाट नियाल्दा भने बजार साइडवेज यात्रामा देखिन्छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानि यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – २९४१
प्रतिरोध २ – २८५६
प्रतिरोध १– २७७४
पिभट् प्वइन्टः २६८९
घटेमा सपोर्ट
सपोर्ट १– २६०८
सपोर्ट २– २५२३
सपोर्ट ३ –२४४१

निष्कर्षः यो साता नेप्सेमा करिब ३३ अंकको गिरावट आयो । अघिल्लो साता नेप्सेमा २६.४७ अंकको गिरावट आएको थियो । पिभट् मार्फत नियाल्दा यो साता पनि बजार पिभट् प्वइन्ट २६८९ भन्दा तल बन्द भएको छ । विभिन्न इन्डिकेटरहरुबाट नियाल्दा पनि बजार साइडवेजमा चलेको देखिन्छ ।
बजारलाई मुभिङ एभरेजबाट नियाल्दा भने बजार यो साता ५० दिने रेखाबाट तल खसको छ । यस्ता रेखाहरुले घट्दो बजारमा सपोर्ट र बढ्दो बजारमा प्रतिरोधको काम गरका हुन्छन् ।
घट्दो बजारमा यो विन्दुबाट तल खस्नु भनेको बजार केही कमजोर बन्दै छ भन्ने हो । यस हिसाबले अल्पकालको लागि बजार केही कमजोर देखिन्छ । यद्यपी इलिअट वेभमार्फत नियाल्दा हाल केही करेक्सन भएता पनि बजार दीर्घकालमा भने एकपटक ३ हजार ७ सय विन्दुभन्दा माथिको यात्रा तय गर्न सक्ने सभ्भावना भने जिबितै रहेको छ ।
क्षेत्रगत रुपमा नियाल्दा यो साता कारोबार समूह बाहेक सबै समूहमा रातो पोतियो ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।