काठमाण्डौ । पेट्रोल–डिजेल कारको बढ्दो मूल्य र वातावरण संरक्षणमा योगदान पुर्याउन पछिल्लो समय मानिसहरुको झुकाव बिस्तारै विद्युतीय सवारी(ईभी)तर्फ बढिरहेको छ । अटो निर्माता कम्पनीहरुले पनि ग्राहकहरुको बदलिदो सोचलाई समर्थन गर्न आफ्नो रणनीतिलाई परिवर्तन गरेर ईभी मोडलका सवारी साधनहरु उत्पादन गर्न थालेका छन् ।
तर ईभी सवारी साधनको विषयलाई लिएर सुरुवातीदेखि नै आम उपभोक्तामा संशय व्याप्त थियो । यस्तोमा हालै सार्वजनिक भएको एक अनुसन्धानत्मक प्रतिवेदनले ईभी सवारीको विषयमा चिन्ता बढाईदिएको छ । उक्त प्रतिवेदनमा ईभी सवारी साधनले मानिसहरुको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको जनाइएको छ ।
फ्रान्समा भएको एक अध्ययनका अनुसार ईभी कारमा यात्रा गर्ने मानिसहरुलाई मोशन सिकनेशको समस्या देखिएको छ । ईभी कारमा यात्रा गर्नेहरुलाई चक्कर आउने, टाउको दुख्ने, बान्ता आउने, शरीर दुख्ने जस्ता कयौं स्वास्थ्यसँग सम्बन्धित मोशन सिकनेशको समस्याहरु देखा परिरहेको उक्त अध्ययनमा जनाइएको छ ।
अनुसन्धानमा ईभी कारको ब्रेकिङ सिस्टमका कारण यस्तो भईरहेको उल्लेख छ । ईभी कारहरुमा रि जेनेरेटिभ ब्रेकिङ सिस्टम हुने गर्छ । अर्थात ब्रेक लगाउने बित्तिकै कारमा हल्का झट्का आउने गर्छ र पुरै कार भाईब्रेट हुन्छ । यही कारण चालक र यात्रुहरु असहज महसुस गर्ने गर्छन् ।
मष्तिस्क र वेस्टिबुलर सिस्टमबीचको तालमेलमा कमीका कारण मोशन सिकनेशको समस्या देखा परिरहेको अध्ययनमा जनाइएको छ ।
ईभी कारको सबैभन्दा ठूलो विशेषता भनेको यसमा आवाज शुन्यबराबर हुने गर्छ । तर यसको यही विशेषता नै यात्रुहरुका लागि हैरानीको कारक बन्न पुगेको छ ।
पेट्रोल र इन्जिन कारहरुमा इन्जिनको आवाजले कारको गति बढ्ने/घट्ने वा ब्रेक लाग्ने विषय यात्रुहरुलाई एउटा संकेतको रुपमा दिने गर्छ । तर इभी कारमा यस्तो नहुँदा समेत मोशन सिकनेश हुने गर्छ ।
ईभी सवारी साधनमा ब्याट्री तथा मोटर सिस्टमका कारण इलेक्ट्रिक म्याग्नेटिक फिल्ड(ईएमएफ) बन्ने गर्छ । केही अनुसन्धानका अनुसार लामो समयसम्म ईएमएफको सम्पर्कमा रहदा टाउको दुख्ने, थकान र निन्द्रासम्बन्धी समस्या आउन सक्छ ।
यस्तै ईभी सवारी साधन सडकमा चल्दा समेत आवाज नआउने भएकाले यसले सडकमा हिड्नेहरुलाई सवारी साधन आएको आभास हुने गर्दैन । जसले दुर्घटना समेत निम्त्याउन सक्छ । यही कारण कयौं कार निर्माता कम्पनीहरुले यस विषयमा पेट्रोल/डिजेल सवारीको जस्तै आवाज उत्पन्न गर्ने विषयमा काम गरिरहेका छन् ।
जसका कारण सडकमा हिड्नेहरुले ईभी सवारी आएको चाल पाउन सकुन् र सावधान हुन सकुन् ।
-एजेन्सीको सहयोगमा