काठमाण्डौ । मन्दाकिनी हाईड्रोपावर कम्पनी लिमिटेडको आम्दानी र नाफामा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ३ करोड ९८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २२.९४ प्रतिशतले बढी हो ।
अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ३ करोड २४ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत १० करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १.५१ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत १० करोड ७५ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले यो अवधिमा ८७ लाख ९६ हजार रुपैयाँबराबरको वित्त आम्दानी र १ लाख ७१ हजार अन्य आम्दानी गरेको छ ।
कम्पनीको खर्च भने केही घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ६ करोड ५८ लाख रुपैयाँबराबरको कुल खर्च गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ६ करोड २८ लाख खर्च गरेको छ ।
कम्पनीको कुल चालु सम्पत्ति ४ करोड ५५ लाख रुपैयाँ र कुल चालु दायित्व २ करोड ४१ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ६.१७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०७.१३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९७.६३ गुणा र तरलता अनुपात १८.८१ प्रतिशत कायम भएको छ ।