काठमाण्डौ । पछिल्लो समय प्रि–आईपीओको नाममा लगानीकर्ताहरुबाट पैसा उठाउने धन्दा मौलाउन थालेको छ । धितोपत्र दोस्रो बजारमा आउनु अगावै सर्वसाधारणहरुलाई विभिन्न कम्पनीहरुको संस्थापक सेयर बिक्री गराउने खेती भित्रभित्रै निकै मौलाइरहेको छ ।
विशेषतः बैंकहरुले आईपीओको प्रस्ताव ल्याउने कम्पनीहरुलाई थप ऋण दिन थालेपछि बजारमा प्रि–आईपीओको नाममा पैसा उठाउने धन्दा मौलाउँदै गएको हो ।
प्रि–आईपीओको नाममा संस्थापक सेयर बिक्री गराई पैसा उठाउने काम सामाजिक सञ्जालहरुबाट बढी भइरहेको देखिन्छ । कम्पनी पब्लिकमा जाने टुङ्गो नभई पहिलेदेखि नै प्रि–आईपीओको नाममा सेयर भिडाएर भुक्तानी लिने धन्दा मौलाउँदा सोझा लगानीकर्ताहरु फस्ने जोखिम बढ्दै गएको हो ।
सामाजिक सञ्जालमार्फत होल्डिङ्स कम्पनी, इन्भेष्टमेन्ट कम्पनी, कृषि कम्पनी, हेलिकप्टर कम्पनी, हाइड्रो कम्पनी, स्टिल कम्पनी र सिमेन्ट कम्पनीमा बढी यस्ता खालका गतिविधि भइरहेका छन् । पछिल्लो समयमा यसको प्रत्यक्ष उदाहरण ब्रह्म ज्योति होल्डिङ कम्पनी हो । यो कम्पनीको मूख्य कार्यालय काठमाण्डौ महानगरपालिका ३३ कोटेश्वरमा रहेको छ । यस कम्पनीले प्रतिकित्ता १२५ को दरले कम्तिमा एक हजार रुपैयाँ अहिले लगानी गर्नु पर्ने बताएको छ ।
यस कम्पनीले गूल्मिमा गोलाङदी हाईड्रो पावर र कफि खेति गरेको बताएको छ । यस्तै कम्पनीले रामेछापमा किवी खेति तथा काठमाण्डौ विमानस्थल नजिक एरपोटए होटल सञ्चालन गरिरहेको समेत उल्लेख गरेको छ । कम्पनीले उठाईरहेको प्रतिकित्ता १२५ रुपैयाम २५ रुपैयाँ ब्यबस्थापन खर्चमा जाने कम्पनीले जनाएको छ ।
त्यसैगरि, दोस्रो बजारबाट पैसा उठाउने कम्पनी जानकी केवल पनि हो । यो कम्पनीले पनि सर्वसाधारणबाट प्रिमियममा नै पैसा उठाईरहेको छ । अहिले दोस्रो बजारबाट प्रि–आईपीओको रुपमा पैसा उठाउने यी प्रतिनिधि कम्पनी मात्रै हुन् । बजारमा यसरी पैसा उठाउने अन्य थ्रुप्रै कम्पनी छन् ।
यति मात्रै नभएर केही कम्पनीहरुले मर्चेन्ट क्यापिटलसँग आईपीओको लागि सम्झौता गरेदेखि नै दोस्रो बजारमा सर्वसाधारणबाट पैसा उठाएको स्ुनिन्छ । आज नेपाल स्टक हाउसमा भेटिएका केही लगानीकर्ताहरुले यस्ता कम्पनीहरुको प्रि–आईपीओको सेयर खुलेआम ब्रोकरहाउसहरुमा नै मोलमलाइ हुने गरेको दावी गरे ।
बजार जानकारहरुका अनुसार पछिल्लोपटक सेयर बजारले गति लिन नसक्नुमा मूख्य कारण भनेको आईपीओ र प्रि–आईपीओमा पैसा जानु हो । धितोपत्र बजारका जानकार हरि बहादुर केसीले यसरी खुलेआम पैसा उठाउनु गैर कानूनी भएको बताए । उनका अनुसार धितोपत्र कानून अनुसार ५० जना भन्दा बढी भेला भएर पैसा उठाउन धितोपत्र बोर्डको स्वीकृति लिनु पर्ने हुन्छ ।
‘तर कम्पनीहरुले खुलेआम सामाजिक सञ्जालमा आवेदन पत्र नै पठाएर पैसा उठाउनु सरासर गैर कानूनि हो । त्यो पनि प्रिमियममा’उनले भने ।