काठमाण्डौ । दशैं भन्ने बित्तिकै टिकाजमरा, दक्षिणा, मिठो खानाका परिकार, पिङजस्ता कुराहरु आउँछन् । विशेषगरी दशैंलाई हामी आफ्ना घरपरिवार, इष्टमित्र र आफन्तहरुसँग समय बिताउँदै मिठा परिकार बनाएर खाने पर्वका रुपमा पनि लिन्छौं ।
अझ दशैं पर्वमा हामी विशेषगरी दालभात, तरकारी, विभिन्न मासुको परिकार र अचार खाने गर्छौ । सामान्यतया नेपालीहरुले दालभात र तरकारी दिनहुँ खाए पनि दशैंमा त्यहि खाना अलिक विशेष हुन जान्छ ।
दशैंको समयमा हरेक नेपालीहरुको घरमा खसीको मासु वा अन्य कुनै मासुको परिकार पाकेको हुन्छ । खसीको मासुलाई फ्राई, भुटुवा, ग्रेभी, झोल, करि, सुकुटी, कबाब, खसीको बिरयानी, खसीको मःमः, खसीको चप्स कुनै तरिकाबाट पकाउन सकिन्छ ।
प्रायजसो नेपालीहरुले दशैंको समयमा दिनहुँ खाने खानालाई पनि फरक ढंगबाट प्रस्तुत गरी खान चाहान्छन् । सधैं खाइरहने दालभात र तरकारीलाई विशेष बनाई थकाली खानाको रुपमा समेत खान सकिन्छ ।
अहिले काठमाण्डौं उपत्यका लगायतका विभिन्न शहरहरुमा थकाली भान्छा घरहरु खुलेका छन् । नेपालीहरु खानाका परिकारमा सौखिन त छन्, तर थकाली खाना राम्रोसँग धेरैलाई तयार गर्न नआउनसक्छ ।
दशैंको समयमा प्राय सबैको घरमा खसीको मासु वा अन्य मासुहरु हुन्छ । मासुको परिकारलाई विभिन्न तरिकाबाट पकाएर दशैंमा तपाई आफ्नो घरपरिवारसँग बसेर मिठो थकाली खाना सेट पकाउन सक्नुहुनेछ ।
(परिकारहरुः भात/ढिँडो, मासको कालो दाल, मासु(जुनसुकै), गुन्द्रुकको अचार, तामाको तरकारी, आलुको तरकारी, आलु भुजिया फ्राई, टमाटर अचार, मूलाको गालेको अचार, साग, आलु तामा र शुद्ध घिउ ।)
१. थकाली ढिंडो

सामाग्रीः
मकैको पिठो–१ कप
पानी –३ कप
नुन –स्वाद अनुसार
बनाउने तरिकाः
-पानी उमाल्नुहोस् ।
-पानी उम्लिएपछि, मकैको पिठो क्रमिक रूपमा हाल्दै लगातार चलाउनुहोस्।
-ढिंडो गाढा र नरम भएपछि, नुन हालेर मिक्स गर्नुहोस्।
-अलि चिसो भएपछि पलेटमा निकालेर खान तयार गर्नुहोस्।
२. थकाली मासु
सामाग्रीः
मासु ( कुखुरा/खसि/च्यांग्रा/भेडा) – ५०० ग्राम
प्याज – १ ठूलो टुक्रा
टमाटर – १ वटा
अदुवा–लसुन पेस्ट – १ चम्चा
तेल – २ चम्चा
नुन, खुर्सानी, धनियाँ पाउडर – स्वाद अनुसार
पानी – आवश्यक परिमाण
बनाउने तरिकाः
-मासु राम्रोसँग धोएर काट्नुहोस् ।
-तेल तताएर प्याज सुनौलो भएपछि अदुवा–लसुनको पेस्ट हाल्नुहोस्।
-टमाटर मिसाएर मसला राम्रोसँग फ्राई गर्नुहोस् ।
-मासु हालेर केही मिनेट फ्राई गर्नुहोस् ।
-नुन, खुर्सानी, धनियाँ पाउडर राखेर पानी हालेर पकाउनुहोस् ।
-मासु नरम भएर मसालेदार सुस्वादिलो भएपछि आगोबाट हटाउनुहोस्।
३. आलु तामा

थकाली समुदायमा आलु ताम लोकप्रिय साइड डिश हो।
सामाग्रीः
आलु – आफूलाई चाहिने परिमाण
तेल – १ चम्चा
नुन, मसला – स्वाद अनुसार
बनाउने तरिकाः
-आलु उमालेर छिल्नुहोस् र काट्नुहोस् ।
-तेल तताएर आलु हल्का फ्राई गर्नुहोस्र ।
-नुन र अन्य मसला राखेर राम्रोसँग मिक्स गर्नुहोस्
४. गुन्द्रुकको अचार

थकाली समुदायले गुन्द्रुकलाई विशेष महत्व दिन्छ।
सामाग्रीः
गुन्द्रुक – १ कप
तेल, नुन, मसला, टमाटर, टिम्बुर, प्याज, हरियो खुर्सानी, हरियो धनिया, – स्वाद अनुसार
बनाउने तरिकाः
-गुन्द्रुक धुने र तातो पानीमा ५ मिनेट भिजाउने।
-टमाटर आगोमा पोल्ने
-भिजाएको गुन्द्रुकलाई निचोरेर हल्का तेलमा रोस्ट गर्ने
-हरियो खुर्सानी, धनिया, मसला, नुन पिसेको टिम्बुर हाल्ने
-पोलेको टमाटरलाई हातले मुसेर गुन्द्रुकसँगै मोल्ने ।
५. दाल उमाल्ने
-दाल राम्रोसँग पखाल्नुहोस् ।
-प्रेसर कुकरमा दाल, बेसार, नुन, र पानी हाल्नुहोस् ।
-३–४ सिटी आउने गरी उमाल्नुहोस्। नरम भइसकेपछि अलिकति मिक्स गरेर एकसार बनाउनुहोस् ।
तड्का तयार गर्नेः
-एउटा प्यानमा तोरीको तेल तताउनुहोस्।
-मेथी हालेर सुनौलो/कालो हुन दिनुहोस् (बढी नडढलाउनुहोस्)।
-जिरा, टिमुर, अदुवा–लसुन पेस्ट, प्याज र टमाटर हाल्नुहोस् ।
-मसला नरम र बास्ना आउने गरी फ्राई गर्नुहोस् ।
-तड्का तयार भइसकेपछि त्यसलाई दालमा राखेर घोल्ने र आवश्यक मात्रामा तातो पानी मिसाएर फेरी घोल्ने ।