काठमाण्डौ । क्यानडाका तेल निर्याकर्ताका लागि दशकौंदेखि दक्षिणतर्फको सीमा मुख्य गन्तव्यको रुपमा रहँदै आएको थियो । तर यतिबेला परिदृश्य बदलिँदै छ । क्यानडाका लागि बजारमा नयाँ खरिदकर्ताको उदय भएको छ ।
त्यो नयाँ खरिदकर्ता हो– चीन । चीनले यतिबेला क्यानडाबाट ठूलो परिणाममा कच्चा तेल खरिद गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबलम्बन गरेको व्यापार नीतिले निम्त्याएको विवादका कारण क्यानडाको कच्चा तेलको निर्यातको दिशा यस वर्षको सुरुदेखि बदलिएको हो ।
अमेरिकासँग बढेको व्यापारिक असमझदारीसँगै क्यानडाले ट्रान्स माउन्टेन पाइपलाइनको विस्तार गरेर तेलको आपूर्तिलाई सहज बनायो । यो पाइपलाइन ८ लाख ९० हजार ब्यारेल प्रतिदिनको नयाँ क्षमताका साथ सन् २०२४ बाट सञ्चालनमा आएको थियो । यो पाइपलाइनको विस्तारसँगै चीनमा क्यानडाबाट हुने कच्चा तेलको दैनिक औषत आपूर्ति २ लाख ७ हजार ब्यारेल पुगेको छ । जुन अमेरिकामा निर्यात हुँदै आएको भन्दा बढी हो ।
अमेरिकामा क्यानडाबाट औषत दैनिक १ लाख ७३ हजार ब्यारेल कच्चा तेल निर्यात हुँदै आएको छ ।
विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ताको रुपमा रहेको चीनले मूल्यमा आएको गिरावटको फाइदा उठाउँदै यो वर्ष ठूलो परिणाममा कच्चा तेल खरिद गरेर तेलको मौज्जाद बढाईरहेको छ । चीनले यो वर्ष दैनिक ९ लाख ९० हजार ब्यारेल कच्चा तेलको भण्डारण गरिरहेको छ । मूल्यमा गिरावट आएसँगै यो दर अझै बढ्ने अपेक्षा गरिएको छ ।
चीनले तेल भण्डारणका लागि थप ११ वटा भण्डारण गृहको निर्माण गर्दैछ । रोयटर्सको रिपोर्टका अनुसार यी भण्डारण गृहको क्षमता १६९ मिलियन ब्यारेलको हुनेछ । यो भनेको दुई साताभरको निर्यातबराबर हो ।