काठमाण्डौ । सिंगटी हाईड्रोपावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानी र नाफामा सामान्य गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीले ११ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा ०.२९ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनी ११ करोड २५ लाख खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत २५ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीमार्फत २६ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीको कुल खर्च भने घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १४ करोड ७९ लाख रहेको कुल खर्च घटेर १४ करोड ८ लाखमा सीमित बनेको छ ।
कम्पनीको सञ्चित नाफा १० करोड ७८ लाख रहेको छ । यस्तै कम्पनीले सेयर प्रिमियम शिर्षकमा २५ करोड ११ लाख रुपैयाँ छुट्टाएको छ । २६ करोड ५० लाख रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व ४८ करोड ६५ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१५.४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११२.३८ रुपैयाँ, तरलता अनुपात ०.५४ प्रतिशत, मूल्य आम्दानी अनुपात १७.१८ गुणा र रिटर्न अन इक्विटी ३.४४ प्रतिशत रहेको छ ।

