काठमाण्डौ । प्रभू बैंक लिमीटेडले बोलाएको सञ्चालक समिति र उच्च व्यवस्थापनबीचको 'महत्वपूर्ण र अर्जेन्ट' बैठक एकाएक रोकिएको छ ।
सोमबार दिउँसो ३ बजेदेखि महत्वपूर्ण र अर्जेन्ट बैठक हुने भन्दै सञ्चालक समितिको हवाला दिंदै उच्च व्यवस्थापनका अधिकारीहरुलाई बोलाइएको थियो ।
बैठक सुरु हुनै लाग्दा सञ्चालक समितिका अध्यक्ष किशोरजंग कार्कीलाई एक्कासी राष्ट्रबैंकबाट बोलावट भएपछि पूर्व निर्धारित बैठक र महत्वपूर्ण भनिएको छलफल सुरु नहुँदै सकिएको स्रोतले जनाएको छ ।
अहिले बैंक सञ्चालक समितिका अध्यक्ष कार्की राष्ट्रबैंक पुगेका छन् । त्यहाँ केन्द्रीय बैंकले आफ्ना सञ्चालकहरुलाई केहीबेरपछिको बैठकका लागि बोलाइसकेको छ ।
आजको बैठकमा प्रभू बैंकभित्र देखिएको समस्या, बैंकलाई सम्भावित ठूलो जोखिमबाट बचाई सिस्टेमिक रिस्क आउन नदिन अपनाउनुपर्ने रणनीति र बैंकको भावी नेतृत्वसम्मका विषयमा कुराकानी हुने बुझिएको छ ।
पछिल्लो समय बैंकले निरज लम्साललाई कामू सीईओको जिम्मेवारी दिए पनि सीईओ संलग्न प्रकरणमा उनको समेत प्रत्यक्ष र महत्वपूर्ण संलग्नता देखिएका कारण बैंक थप समस्यामा पर्ने भएकोले तत्काल बैंकभित्रकै क्लिन कुनै व्यक्ति वा बाहिरको कुनै बैंकरलाई नेतृत्व दिनुपर्ने आवाज समेत उठ्न थालेको छ । आज बैंकको भावी रणनीतिका विषयमा नियामक केन्द्रीय बैंकले महत्वपूर्ण छलफल गरी सोहीअनुसारको गाइडलाइन दिएर अध्यक्ष कार्कीलाई पठाउने अपेक्षा समेत गरिएको छ ।

