काठमाण्डौ । भारतीय रूपैयाँ(भारु)मा आएको तीव्र गिरावटको बीच भारतीय रिज़र्भ बैंक (आरबीआई) ले मौद्रिक नीतिमा परिवर्तन गर्दै रेपो दर २५ बेसिस प्वइन्ट (०.२५ प्रतिशत) ले घटाएर ५.२५ प्रतिशतमा झारेको छ।
यस कदमसँगै घर–जग्गा, सवारीसाधन तथा व्यापारिक ऋणसहितका कर्जाहरू सस्तो हुने अपेक्षा गरिएको छ। आरबीआईका गभर्नरका अनुसार खुद्रा मुद्रास्फीति घटेकाले अर्थतन्त्रलाई थप प्रोत्साहन दिन यस प्रकारको कटौती गर्न सम्भव भएको हो।
आरबीआईले वित्त वर्ष २०२६ का लागि भारतको वास्तविक जीडीपी वृद्धिदरको अनुमान ६.८ प्रतिशतबाट बढाएर ७.३ प्रतिशत पुर्याएको छ। त्यस्तै, मुद्रास्फीतिको अनुमान २.६ प्रतिशतबाट घटाएर २ प्रतिशत गरिएको छ।
आरबीआई गभर्नरले भारतको विदेशी मुद्रा सञ्चिति ६८६ अर्ब डलर पुगेको बताउँदै यस्तो भण्डार ११ महिनासम्मको आयातका लागि पर्याप्त हुने जानकारी दिएका छन्।

