काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)मा बुधबार बिहान १० बजेदेखि प्रदर्शन गर्ने घोषणा गरेका जेनजी आन्दोलनकारी त्यहाँ जाँदै गएनन् । साढे ११ बजेसम्म पनि त्यहाँ एकजना लगानीकर्ता समेत पुगेका छैनन् ।
जेनजी आन्दोलनकारीहरु अन्य बेलाभन्दा आज बढी अराजक हुने योजनाको विषयमा सूचना पाएपछि प्रहरीको ठूलो समूहले भने सेबोनको गेटमै बिहान १० बज्नुअघिदेखि नै निरन्तर पहरा दिइरहेको छ ।
सुरुमा नेपाल प्रहरीको टोली मात्र त्यहाँ तैनाथ थियो । तर केही समयपछि सशस्त्र प्रहरीको एउटा टोली समेत त्यहाँ पुगेको छ । अहिले दुवै प्रहरी टोलीले सेबोनलाई आफ्नो सुरक्षाघेरामा राखेका छन् ।

आफूहरुले जेनजी आन्दोलनकारी आएर केही विध्वंश मच्चाउनसक्ने पूर्व सूचनाका आधारमा त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सुरक्षा स्रोतको दाबी छ । जेनजी लगानीकर्ताहरुले सेबोनमा आएर आज अराजक गतिविधि गर्ने सूचना पाएर आएका हौं । सुरक्षाका लागि खटिएका एक प्रहरी कमाण्डरले बिजशालासँग भने ः हामी १० बज्नुअघिदेखि नै यहाँ छौं । तर लगानीकर्ता कोही पनि आउनुभएको छैन ।
प्रहरी बुधबार बिहान सेबोन पुगेलगत्तै अध्यक्ष सन्तोषनारायण श्रेष्ठ भने सञ्चालक समिति बैठक सकिएर बाहिरिएका थिए । उनलाई समेत कतैबाट अराजक गतिविधि हुने सूचना पुगेको र अध्यक्षलाई टार्गेटमा राखिएको खबर पुगेपछि त्यहाँबाट हिँडेका अनुमान गरिएको छ ।
सेबोनस्थित उच्च स्रोतकाअनुसार अध्यक्ष श्रेष्ठले दिल्ली जाने भनेर भोलिदेखि ५ दिनको विदा लिएका छन् । आज पनि कार्यालयको काममै बाहिरै हुन्छु भनेर खबर गरेका स्रोतको भनाई छ ।
उता, अध्यक्ष श्रेष्ठले अचानक कार्यालयबाट हिँडेका र विदा बसेका खबर सुनेपछि जेनजी आन्दोलनकारीहरु बीच बाटोबाटै फर्किएका एक लगानीकर्ताले दाबी गरे । सेबोन अध्यक्ष नभई हामी त्यहाँ गएको अर्थ थिएन र बीच बाटोबाटै फर्कियौं । एक जेनजी लगानीकर्ताले चेतावनीको शैलीमा बिजशालासँग भने ः उहाँ कार्यालयमा आएपछि पुनः जान्छौं र आफ्ना माग राख्छौं । त्यसबेलासम्म पनि हाम्रा माग सुनिएन भने त्यसबाट उत्पन्न जस्तोसुकै असहज परिस्थितिको जिम्मेवार उहाँहरु नै हुनुपर्छ ।
जेनजी आन्दोलनकारीहरुले धितोपत्र बोर्डमा भ्रष्टाचार बढेको, आईपीओ निश्कासनमा विभेद गरिएको भन्दै अध्यक्ष श्रेष्ठको राजीनामा लगायत २८ बुँदे माग प्रस्तुत गरेका छन् । ती मागहरुको विषयमा बोर्डले अहिलेसम्म आफूहरुसँग कुनै छलफल नगरेको र बेवास्ता गरेको जेनजी आन्दोलनकारीको बुझाई छ ।

सेबोनका प्रवक्ता निरञ्जय घिमिरेले जेनजीका मागहरुको विषयमा आफूहरुलाई जानकारी रहेको भन्दै त्यस विषयमा आफूहरु गम्भीर रहेको प्रष्ट पारे ।

